ब्युटी न्युज नेपाल
काठमाडौँ, ६ फागुन
चलचित्र ‘कार्की साइँला’मा अभिनेत्री प्रियना आचार्य (मुन्नी) अनुबन्धित भएकी छन्। निर्माण टिमले उनलाई आधिकारिक रूपमा सम्झौता गरेको जनाएको छ। प्रियना अनुबन्ध भएसँगै फिल्मको छायांकन तयारी तीव्र पारिएको छ।
राजेन्द्र बस्नेतको निर्देशनमा निर्माण हुन लागेको यस फिल्ममा अब अभिनेत्री प्रियना आचार्यले अभिनेता जितु नेपालको जोडीका रूपमा अभिनय गर्नेछिन्। निर्देशक बस्नेतका अनुसार कथाको मागअनुसार नै प्रियनालाई छनोट गरिएको हो। उनले भने, “हाम्रो कथा अनुसार धनकुटाका विभिन्न स्थानमा छायांकन गर्नेछौँ। ‘कार्की साइँला’को कथाले मागे अनुसार नै प्रियनालाई अनुबन्ध गरेका हौँ। थप जानकारी केही दिनमै सार्वजनिक गर्नेछौँ।”
निर्माण पक्षका अनुसार फिल्मको सुटिङ नेपालका पूर्वी जिल्ला धनकुटामा गरिनेछ। फिल्ममा जितु नेपाल र प्रियना आचार्यका अतिरिक्त सुशील पोखरेल, बिरेन्द्र सिंह कुशवाह, मान्शी शर्मा, मनिल तामाङ, रेणुका आचार्य, दिप्सन लिम्बु, रोदा राई तथा कमल देवकोटालगायत कलाकारको अभिनय रहनेछ।
फिल्ममा संगीत दिप्सन लिम्बुको तथा प्रोडक्सन सिबी भण्डारीको रहने जनाइएको छ। कर्णबहादुर फिल्मस् प्रालीको ब्यानरमा निर्माण हुने यस फिल्मका निर्माता बालकुमार राई हुन् भने प्रस्तुति कृष्ण भगत चाम्लिङको रहेको छ। मुख्य सहायक निर्देशक रोजल थापा रहेका छन्। छायांकन डम्बर राईले गर्नेछन् भने द्वन्द निर्देशन किरण दाहालको रहनेछ।

