ब्युटी न्युज नेपाल
काठमाडौँ, ५ फागुन
निर्वाचन र विश्वकप क्रिकेटको माहोलका कारण नेपाली चलचित्रको व्यापार प्रभावित भइरहेका बेला चलचित्र ‘बिगुल’को प्रदर्शन स्थगित गरिएको छ । हलमा प्रदर्शनरत यस फिल्मलाई बुधबारदेखि अर्को सूचना नआउँदासम्मका लागि रोकिने निर्णय गरिएको निर्माता कम्पनी म्याग्नोलिया ग्रुप प्रालिले जनाएको छ ।
हाल जारी विश्वकप क्रिकेट र निकट भविष्यमा हुने संसदीय निर्वाचनको प्रभाव चलचित्र क्षेत्रमा पनि देखिन थालेको छ । दर्शकको उपस्थिति उल्लेख्य रूपमा घटेपछि निर्माण पक्षले प्रदर्शन रोक्ने निर्णय गरेको हो । कम्पनीद्वारा जारी विज्ञप्तिमा परिस्थितिको मूल्यांकन तथा सम्बन्धित निकायको सुझावलाई ध्यानमा राख्दै यो कदम चालिएको उल्लेख छ ।

निर्माता दिनेश कोइरालाका अनुसार फिल्मको नयाँ प्रदर्शन मिति चाँडै सार्वजनिक गरिनेछ । यस निर्णयबाट दर्शक, वितरक तथा सम्बन्धित सबैमा पर्न गएको असुविधाप्रति निर्माण टिमले क्षमायाचना गरेको छ । साथै, हालसम्म फिल्म हेरेर साथ दिने दर्शक, कलाकार, प्राविधिक, सञ्चारकर्मी तथा अतिथिहरूप्रति आभार व्यक्त गरिएको छ ।
फिल्म ‘बिगुल’मा बेनिशा हमाल, नरेन खड्का, रमेश बुढाथोकी, बिनोद न्यौपाने लगायतले मुख्य भूमिका निर्वाह गरेका छन् । रमेश कोइरालाको निर्देशनमा बनेको यो चलचित्रले प्रदर्शन अवधिमा सकारात्मक प्रतिक्रिया पाएको थियो ।



