ब्युटी न्युज नेपाल
काठमाडौँ, २ फागुन
नेपाली चलचित्र जगतका वरिष्ठ कलाकार तथा निर्देशक निर शाहले नयाँ चलचित्र ‘कमला मिस’को निर्देशन सुरु गरेका छन् । उनी यो चलचित्र मार्फत एक दशकपछि निर्देशनमा पुनः सक्रिय हुन लागेका हुन् । शुक्रबार ललितपुरको इमाडोलस्थित न्यु मिलेनियम स्कुल परिसरमा विधिवत् शुभमुहूर्त सम्पन्न गरी चलचित्रको छायांकन सुरु गरिएको छ। यो चलचित्र साहित्यकार विजय बहादुर मल्लको नाटक कोही किन बर्वाद होसमा आधारित रहेको छ ।
यसमा निर्देशक निर शाहसँगै बासना तिमिल्सिना, शिवम सराफ क्षेत्री, आरभ दाहाल, भावना मगर, सुशान्त कुमार श्रेष्ठ, जयन्त रेग्मी मुख्य भूमिकामा देखिनेछन्। मुख्य सहायक निर्देशकको रूपमा सागर बोहरा कार्यरत हुनुहुन्छ। चलचित्र ‘कमला मिस’ मा मानव मनोविज्ञानका सूक्ष्म आयामलाई केन्द्रमा राखिएको छ।
निर्माण पक्ष विजय मल्ल स्मृति प्रतिष्ठान द्वारा प्रस्तुत, कार्यकारी निर्माता उमेश मल्ल र चैतन्य प्रधान रहेका छन् भने लाइन प्रोड्युसर पुष्कर लामा छन्। चलचित्रको कथा विजय मल्ल को हो भने पटकथा तथा संवाद निर शाह, प्रजल दुलाल र सुगम दुलालले संयुक्त रूपमा तयार पारेका हुन्।
निर शाहले सिने यात्रा वि।सं। २०२४ साल मा हिरासिंह खत्री निर्देशित ‘परिवर्तन’ चलचित्रबाट सुरु गर्नुभएको हो। उहाँले निर्देशन गरेका स्मरणीय चलचित्रमा ‘वासुदेव’, ‘पच्चीस वसन्त’, ‘राजमती’, ‘वसन्ती’, ‘मसान’, ‘सेतोबाघ’ पर्दछन्। अभिनयमा करिब ३ सयभन्दा बढी चलचित्रमा योगदान रहिसकेको छ। ‘कमला मिस’ मार्फत निर शाहले पुनः नेपाली दर्शकमाझ गहिरो वैचारिक संवाद स्थापित गर्ने अपेक्षा गरिएको छ।



