प्रिमियरमा ‘श्री बुकुरोः द होम कलिङ’लाई सुखद प्रतिक्रिया


ब्युटी न्युज नेपाल
काठमाडौँ, २९ माघ

फागुन १ गतेबाट देशव्यापी प्रदर्शनमा आउने नेपाली सिनेमा ‘श्री बुकुरोः द होम कलिङ’ को प्रिमियर शो सम्पन्न भएको छ। बुधबार काठमाडौँको सिटी सेन्टरस्थित बिग मुभिज हलमा निर्माण टिमद्वारा आयोजना गरिएको विशेष प्रिमियर कार्यक्रममा चलचित्रकर्मी, पत्रकार, कलाकार तथा उद्योगका व्यक्तित्वहरूको उल्लेख्य उपस्थिति रहेको थियो। प्रिमियर कार्यक्रममा सिनेमाको टिमसँगै वरिष्ठ निर्देशक तुलसी घिमिरे, दीपकप्रसाद आचार्य, निर्माता तथा वितरक छविराज ओझा, अभिनेता तथा निर्देशक जयकिशन बस्नेतलगायतका चलचित्रकर्मी सहभागी भएका थिए।

सिनेमा हेरेपछि वरिष्ठ निर्देशक तुलसी घिमिरेले ‘श्री बुकुरोः द होम कलिङ’लाई समग्रमा एउटा चित्रकला (पेन्टिङ) जस्तै बनेको सिनेमा भएको प्रतिक्रिया दिए। उनले फिल्मले ‘बुकुरो’ शब्दमार्फत पैतृक घर र पुर्ख्यौली स्मृतिलाई अत्यन्त सशक्त रूपमा अर्थ्याएको बताए। “फिल्म हेर्दै गर्दा मलाई मेरो पुरानो घरमा फर्किएजस्तो अनुभूति भयो। लक्ष्मीजीको अभिनयले मेरी आमाको सम्झना आयो,” उनले भावुक हुँदै प्रतिक्रिया दिए।

घिमिरेका अनुसार फिल्ममा मानवीय संवेदनाका साना तर अत्यन्तै गहिरा पलहरूलाई सरल र रमाइलो ढंगले प्रस्तुत गरिएको छ। सानोमा खोलामा खेलेका फुपु–भदैँको बुढेसकालमा पुनर्मिलन, लोभी मामाको पात्र, परिवारभित्रका साना खटपट तथा मायाममता जस्ता विषयले दर्शकलाई आत्मीय महसुस गराउने उनको भनाइ थियो। उनले आवश्यक पर्दा गाली गर्ने, थप्पड लगाउने तर मनभित्र गहिरो माया बोकेकी आमालाई साथ दिने तीनै जना छोराहरूको भूमिकालाई पनि प्रशंसायोग्य रहेको बताए।

प्रिमियर कार्यक्रममा निर्माता तथा वितरक छविराज ओझाले पनि सिनेमालाई उत्कृष्ट बनेको प्रतिक्रिया दिएका छन्। उनका अनुसार पारिवारिक कथामा आधारित भए पनि फिल्मले सामाजिक यथार्थ, स्मृति र भावनात्मक पक्षलाई सुन्दर ढंगले समेटेको छ, जसले दर्शकको मन छोने अपेक्षा गरिएको छ।

त्यसैगरी अभिनेता तथा निर्देशक जयकिशन बस्नेतले सिनेमा हेर्दा कुनै उपन्यास पढिरहेको अनुभूति भएको बताए। उनले फिल्ममा सबै कलाकारको अभिनय सशक्त रहेको र पारिवारिक सम्बन्धका उतारचढावलाई प्रभावकारी ढंगले प्रस्तुत गरिएको उल्लेख गरे। “फिल्ममा कमेडी पनि छ, पारिवारिक सम्बन्धको गहिरो कथा पनि छ। सबै कलाकारको अभिनय मनपर्ने खालको छ। विशेष गरी लक्ष्मी दिदीको अभिनय निकै मन छुने छ। यमराजसँग कुरा गर्ने दृश्यदेखि मुक्तिनाथ यात्रा गर्ने दृश्यसम्म सबै रमाइलो र भावनात्मक छन्,” उनले भने।

बस्नेतले वर्षौँपछि दिदी–भाइ भेट हुँदा देखाइने व्यवहार र घटनाक्रमले नेपाली समाजभित्र आफ्नै मानिसबाट धोका पाइने यथार्थ प्रवृत्तिलाई समेत चित्रण गरेको बताए। उनका अनुसार फिल्मले हाँसोसँगै गहिरो सामाजिक सन्देश पनि दिन्छ।

सुदीप भूपाल सिंहको लेखन तथा निर्देशनमा बनेको ‘श्री बुकुरोः द होम कलिङ’ घर, परिवार र समाजको कथा केन्द्रमा राखेर तयार गरिएको सिनेमा हो। फिल्मले पुरानो थाकथलो, पुर्ख्यौली घर र स्मृतिलाई बचाइराख्नुपर्ने सन्देश दिँदै आधुनिक जीवनशैलीका कारण कमजोर हुँदै गएको पारिवारिक सम्बन्धलाई पनि चित्रण गरेको छ। साथै प्रेम जीवन, संस्कार, संस्कृतिको द्वन्द्व र ज्योतिषीय विश्वास (चिना नमिल्दा आउने अड्चन) जस्ता विषयलाई पनि कथावस्तुमा समेटिएको छ।

सिनेमाको मुख्य भूमिकामा वरिष्ठ अभिनेत्री लक्ष्मी गिरीले अभिनय गरेकी छन्। उनीसँगै आशीर्वाद बी क्षेत्री, निकिता आचार्य, रोशनी कार्की, उत्तम न्यौपाने, रामबाबु रेग्मी, राजन इशान, दीपिका थापा, लय संग्रौला, मोहन निरौला, गीता थापा, सपना श्रेष्ठ, आशिका शाही, दीपक कार्की र रजिना विश्वकर्मालगायत कलाकारहरूको अभिनय रहेको छ।

रुबी सेन सिंहको लगानी रहेको सिनेमाको छायांकन सञ्जय लामा र राजेश श्रेष्ठले गरेका हुन्। फिल्मका दृश्यहरू मुस्ताङ, बाग्लुङ, कास्की, दमौली, मकवानपुर र काठमाडौँका विभिन्न आकर्षक तथा ग्रामीण परिवेशमा छायांकन गरिएको छ, जसले कथावस्तुलाई अझ यथार्थपरक बनाएको छ।

प्रिमियरपछि सिनेमाप्रति सकारात्मक प्रतिक्रिया आएको निर्माण टिमले जनाएको छ। फागुन १ गतेदेखि देशभर प्रदर्शनमा आउने ‘श्री बुकुरोः द होम कलिङ’ले पारिवारिक भावनात्मक कथा मन पराउने दर्शकको ध्यान आकर्षित गर्ने अपेक्षा गरिएको छ।