ब्युटी न्युज नेपाल
काठमाडौँ, २९ माघ
दुई दशक अघि मुम्बईमा हेयर ड्रेसरको रूपमा काम गर्दा जनकपुरका लक्ष्मी ठाकुरलाई बलिउडका कलाकारको हेयर स्टाईल बनाएर जीवन बिताउने चाहना थियो । त्यति बेला उनले मुम्बईमा आफ्नै सलुन स्थापनाको तयारी पनि गरेका थिए । तर त्यही बेला पारिवारिक आग्रहमा नेपाल फर्केका उनी पशुपति नाथको दर्शन गर्न जनकपुरबाट काठमाडौँ आए । उनलाई काठमाडौँ साह्रै मन पर्यो । अति बलिउडको सपना त्यागेर काठमाडौँमै ‘लक्ष्मी हेयर एन्ड ब्युटी स्टुडियो’ सञ्चालन गरे । त्यति बेला उनले नेपाली चलचित्रमा सेलिब्रेटीको हेयर डिजाइन र हेयर स्टाईल पनि सुरु गरे ।

तिनै लक्ष्मीले आफ्नो पाँचौँ आउट लेटको रूपमा ‘लक्ष्मी हेयर एन्ड ब्युटी स्टुडियो’को नयाँ शाखा ललितपुरको भैँसेपाटीमा बिहीबारबाट औपचारिक रूपमा शुभारम्भ गरेका छन् । भैँसेपाटी क्षेत्रको तीव्र सहरीकरणसँगै सौन्दर्य सेवाको माग बढ्दै गइरहेको सन्दर्भमा ‘लक्ष्मी हेयर एन्ड ब्युटी स्टुडियो’को नयाँ शाखाले गुणस्तरीय सेवा प्रदान गर्दै स्थानीय ग्राहकलाई सहज र व्यावसायिक सुविधा उपलब्ध गराउन यो स्टुडियो शुभारम्भ गरेको पनि लक्ष्मीले बताए ।

यो पाँचौँ आउट लेट ‘लक्ष्मी हेयर एन्ड ब्युटी स्टुडियो’को बिहीबार आयोजित विशेष समारोहबिच अभिनेता आर्यन सिग्देल, अर्का अभिनेता अनुप विक्रम शाही र अभिनेत्री केकी अधिकारीले संयुक्त रूपमा रिबन काटेर औपचारिक उद्घाटन गरे।
कार्यक्रमलाई उत्साहपूर्ण वातावरणमा सम्पन्न गर्दै कलाकारहरूले लक्ष्मी ठाकुरको व्यावसायिक यात्राको प्रशंसा गरे। सो अवसरमा अभिनेता अनुप विक्रम शाहीलाई बलिउड फिल्म ‘ब्याटल अफ गलवान’को बाँकी छायांकनका लागि मुम्बई प्रस्थान गर्नुपर्ने भएकाले आर्यन, केकी र लक्ष्मीले फूल गुच्छासहित शुभकामना दिँदै बिदाइ गरे ।
मुम्बई यात्रा अघि बोल्दै अभिनेता अनुप विक्रम शाहीले ‘लक्ष्मी हेयर एन्ड ब्युटी स्टुडियो’सँग आफ्नो लामो सम्बन्ध रहेको उल्लेख गरे। “म यसअघि अन्य शाखामा गएर सेवा लिँदै आएको थिएँ। अब मेरो घर नजिकै नयाँ शाखा खुलेपछि सेवा लिन अझ सहज भएको छ,’ उनले भने।

अभिनेता आर्यन सिग्देलले पनि आफूले महाराजगन्ज, पुलचोक, कलंकीको भाटभटेनी र कमलादीको स्काई वाक शाखाबाट नियमित रूपमा सेवा लिँदै आएको जानकारी दिए। उनले भैँसे पाटी शाखाले पनि स्थानीय ग्राहकको मन जित्ने विश्वास व्यक्त गरे। ‘मेरो हेयर स्टाइल लक्ष्मी ठाकुरले करिब १५ वर्षदेखि बनाउँदै आउनुभएको छ। सेवा मात्र होइन, उहाँबाट मैले निरन्तर परामर्श पनि लिँदै आएको छु,’ आर्यनले भने।
अभिनेत्री केकी अधिकारीले कमलादीस्थित स्काई वाक शाखामा आफूले नियमित सेवा र परामर्श लिँदै आएको उल्लेख गर्दै नयाँ शाखाको सफलताका लागि शुभकामना व्यक्त गरिन्। उनले नेपाली चलचित्र क्षेत्रमा हेयर स्टाइलको विकास र परिवर्तनमा लक्ष्मी ठाकुरको उल्लेखनीय योगदान रहेको बताइन्। “चलचित्रको चरित्र निर्माणमा हेयर स्टाइलले महत्त्वपूर्ण भूमिका खेल्छ, र त्यसमा लक्ष्मीजीको योगदान ठुलो छ,’उनले भनिन्।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै ‘लक्ष्मी हेयर एन्ड ब्युटी स्टुडियो’का अध्यक्ष तथा प्रमुख हेयर स्टाइलिस्ट लक्ष्मी ठाकुरले दुई दशक लामो संघर्षपछि यो सफलता हासिल गरेको बताए । सेलिब्रेटी, शुभ चिन्तक र कस्टमरको माया एवम् परिवारको साथले यो सफलता हासिल गर्न सकेको पनि कार्यक्रममा बताए । हालसम्म विभिन्न स्थानमा शाखा विस्तार गरिसकेका ठाकुरले निकट भविष्यमा टंगालको भाटभटेनीमा अर्को आउट लेट सञ्चालन गर्ने योजना रहेको पनि जानकारी दिए। उद्घाटनको अवसर पारेर नयाँ शाखामा उपलब्ध सम्पूर्ण सेवामा विशेष छुटको व्यवस्था गरिएको उनले बताए।
‘लक्ष्मी हेयर एन्ड ब्युटी स्टुडियो’की प्रबन्ध निर्देशक शान्ति पुरी ठाकुरले यो पेसामा श्रीमान् लक्ष्मीलाई आफ्नो पूर्ण साथ रहेको बताउँदै दुवै जनाको संघर्ष र सम्पूर्ण दक्ष कर्मचारीहरूको साथले आज आफूहरूको सलुन सुन्दरताको उत्कृष्ट गन्तव्य बनेको बताइन् ।
उद्घाटन समारोहमा चलचित्र पत्रकार, सौन्दर्यकर्मी तथा स्थानीय व्यवसायीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।



