ब्युटी न्युज नेपाल
काठमाडौँ, १९ माघ
नेपाली चलचित्रमा दर्शक नआएर हल सञ्चालकले उतारेपछि निर्माताहरुले आफ्नो चलचित्रको प्रदर्शनी स्थगित गरिएको भन्दै प्रेस विज्ञप्ति निकाल्नु एउटा प्रथा नै बनिसकेको छ । यही प्रथालाई यति बेला निर्देशक बलिराम चौहानले पनि निरन्तता दिएका छन् ।
सहिद दिवसको दिन पारेर शुक्रवार (१६ माघ)बाट प्रदर्शनमा आएको नेपाली चलचित्र ‘द ब्लु लाइट’ चलचित्र घरमा रिलिज भएको तीन दिनमै उत्रिएको छ । चलचित्रको व्यापार ठप्प जस्तै भएपछि यसलाई धेरैजसो चलचित्र घरले आइतबार ने उतारे । त्यसपछि बाध्य भएर इज्जत जोगाउन यसका निर्देशक बलिराम चौहानले एक विज्ञप्ति मार्फत आफ्नो चलचित्र हलबाट उतार्ने निर्णय गरेको बताए ।
त्यसो त यो चलचित्रको बिहीबार बेलुका काठमाडौँमा अकस्मात् गरिएको प्रिमियरमा सहभागीले राम्रो प्रतिक्रिया दिएनन् । प्रचार प्रसारमा निकै कमजोर रहेको यो चलचित्रको कथावस्तु र प्रस्तुति मन नपराएरै दर्शकहरू चलचित्र घरसम्म नपुगेको हुन सक्छ ।
त्यसैले बहुसंख्यक चलचित्र घरबाट यो चलचित्र आइतबार उत्रिएपछि सोमबार निर्माता कम्पनी स्काइफल पिक्चर्सको तर्फबाट निर्देशक बलिराम चौहानले एक विज्ञप्ति जारी गर्दै फिल्मलाई पुनः प्रदर्शन गर्ने गरी हलबाट हटाउने निर्णय भएको बताए । उनले चलचित्रको अझ व्यापक प्रचार–प्रसार आवश्यक रहेको सुझाव प्राप्त भएको पनि विज्ञप्तिमा उल्लेख गरेका छन् । यो कुराले के प्रस्ट हुन्छ भने प्रचार प्रसार नगर्दा चलचित्रको हालत यस्तो पनि हुँदो रहेछ ।
बलिरामले आगामी दिनमा थप सशक्त तयारी र प्रभावकारी प्रचार रणनीतिसहित पुनः प्रदर्शन गर्ने योजनासहित फिल्मलाई हालका लागि हलबाट हटाउने निर्णय गरिएको जारी विज्ञप्तिमा उल्लेख छ ।
‘द ब्लु लाइट’ छायांकनको क्रममै आर्थिक समस्या आएपछि यो चलचित्रकी नायिका बेनिशा हमाल यसमा निर्माताको रूपमा जोडिएकी थिइन् । आफ्नो पारिश्रमिकलाई शेयरको रूपमा चलचित्रमा हाल्दै उनले थप केही रकम पनि खर्च गरेकी थिइन् । तथापि प्रचार प्रसारको क्रममा निर्माताले पैसा ननिकाले पछि यो चलचित्रको एउटा पनि औपचारिक प्रचार मूलक पत्रकार सम्मेलन तथा ट्रेलर, टिजर, गीतसमेत रिलिज कार्यक्रम राखिएन ।
शनिवार जस्तो साप्ताहिक बिदाको दिन समेत चलचित्र घरमा यो चलचित्र हेर्न २० प्रतिशत समेत दर्शकको उपस्थित नदेखिएपछि चलचित्र घर सञ्चालकहरूले यसलाई हटाएका छन् । अबका दिनमा चलचित्र को व्यवसायमा प्रचार प्रसार र मिडियाको कति ठुलो हात हुन्छ भन्ने कुरा चलचित्र ‘द ब्लु लाइट’को यो हालतबाट आगामी रिलिज चलचित्रका निर्माता निर्देशकले सिक्ने आशा गरौँ ।


