चलचित्र पत्रकार दिनेश सिटौलाको निधन


ब्युटी न्युज नेपाल
काठमाडौँ, १८ माघ

चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष एवम् चलचित्र पत्रकार दिनेश सिटौलाको .४५ वर्षको उमेरमा निधन भएको छ । शुक्रबार दिउँसोबाट उनको काठमाडौँ स्थित ग्राण्डी इन्टरनेशनल अस्पतालमा उपचार भइरहेको थियो । उपचारको क्रममा निधन भएको अस्पतालले एक विज्ञप्ति मार्फत औपचारिक रूपमा घोषणा गरेको छ ।

पत्रकार सिटौला राष्ट्रिय स्वतन्त्र पार्टीको नेता बाल शाहलाई सघाउन पार्टीमा आबद्ध नभई शुभेच्छुकको हिसावले आछामको मंगलसेन पुग्दा रक्तचाप उच्च भई उनी ढलेका थिए । त्यहाँबाट हेलिकोप्टरमा काठमाडौँ ल्याएर उनको ग्राण्डी अस्पतालमा शुक्रारबाट उपचार जारी थियो । उच्च रक्तचापका कारण मस्तिस्कको नसा फुटेर ‘ब्रेन ह्यामरेज’ पछि उनको निधन भएको पनि अस्पतालका चिकित्सकले जनाए ।

बिगत दुई दशकदेखि चलचित्र पत्रकारितामा सक्रिय उनी हाल ‘द सिनेमा टाईम्स डट कम’का सम्पादक एवम् सञ्चालक थिए । यस अघि उनी चलचित्र पत्रकार संघमा सचिब, उपाध्यक्ष हुँदै अध्यक्ष भएका थिए । उनको पार्थिव शरीरलाई अहिले दिउँसो २ः३० देखि ३ बजेसम्म चलचित्र विकास बोर्डको प्रांगनमा अन्तिम श्रद्धाञ्जलीको लागि राखिने भएको छ ।उनको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने परिवारले जनाएका छन् । परिवारमा उनको बुबा, एक दाजु, एक भाई र दिदी छन् ।

पत्रकार सिटौलाको निधनको खबरले ब्युटी न्युज नेपाल परिवार दुःखी बनेको छ । उनी प्रति हामी हार्दिक श्रद्धाञ्जली अर्पण सहित परिवार जनप्रति गहिरो दुःख व्यक्त गर्दछौँ ।