बूगी वूगीको निर्णायकमा प्रियँका, दिलिप र कविराज, १५ चैतबाट प्रशारण सुरु


काठमाडौं, ४ चैत

नृत्य सम्बन्धि प्रतियोगितामुलक अन्तराष्ट्रिय स्तरको प्रतियोगिता ‘डान्स रियालिटी शो बूगी वूगी’ आगामी १५ चैत देखि एपी वान टेलिभिनजबाट प्रशारण हुने भएको छ ।

डान्स रियालिटी शो बूगी वूगीको नेपाली संस्करणको निर्णायकमा अहिलेकी व्यस्त अभिनेत्री प्रियँका कार्की, अभिनेता एबं कुशल नृत्यकार दिलिप रायमाझी र अर्का व्यस्त नृत्य निर्देशक कविराज गहतराज चयन भएका छन् । आयोजक संस्था एपी वानले प्रेस विज्ञप्ति मार्फत यो जानकारी गराएको हो ।

‘नेपालको पहिलो अन्तराष्ट्रिय फ्रेञ्चाईज सिंगिंग रियालिटी शो नेपाल आइडलको सफलता पछी अर्को अन्तराष्ट्रिय फ्रेञ्चाईज डान्स रियालिटी शो बूगी वूगी सुरु गर्न लागेका हौं । यहि १५ चैत्रमा यो रियालिटी शोको टेलिभिजन प्रिमियर हुने भएको छ ।’ एपी वानले आफ्नो विज्ञप्तिमा जनाएको छ ।

१५ चैत्र बहिबार बेलुकी ८ बजे प्रिमियर गरिने बूगी वूगीको यो पहिलो एपिसोडमा देशभरबाट छानिएर आएका हजारौ सहभागीबाट अडिसनमा उत्कृष्ट सय प्रस्तुत हुनेछन् । त्यसपछि सयबाट उत्कृष्ट भएका १८ प्रतिस्प्रर्धीहरुले आफ्नो नृत्य कला प्रस्तुत गर्नेछन ।

 

बूगी वूगीलाई एलिन श्रेष्ठले निर्देशन गरेका छन । बूगी बूगीको नेपाली संस्करणका बिजेताले कार, १५ लाख नगद तथा बिभिन्न कंट्रयाक्ट पुरस्कार प्राप्त गर्नेछ ।

बूगी वूगीलाई सन् १९९६मा भारतका जावेद जाफरी र रवी भेलले सुरुगरेका थिए । अन्नपूर्ण मिडिया नेटवर्कले नेपालका लागि सो प्रतियोगिताको निर्माण एवम् प्रदर्शन अधिकार किनेको हो ।