ब्युटी न्युज नेपाल
काठमाडौँ, १० माघ
दिवंगत गायिका तारादेवीको स्मृतिमा तारा देवी स्मृति फाउन्डेसनले काठमाडौँमा सांगीतिक प्रस्तुति आयोजना गरेको छ । नेपाल पुलिस क्लब भृकुटीमण्डपमा यो कार्यक्रम सम्पन्न भएको हो ।
समारोहको सुरुआत अमर गायिका तारा देवीको तस्बिरमा माल्यार्पण गर्दै गरिएको थियो । त्यस अवसरमा उनका कालजयी गीत, नेपाली संगीतमा पु¥याएको योगदान तथा व्यक्तित्वमाथि चर्चा गरिएको थियो । त्यसपछि प्रस्तुत गरिएका विविध सांस्कृतिक तथा सांगीतिक कार्यक्रममार्फत तारा देवीको कला र सृजनालाई स्मरण गरिएको थियो ।
प्रत्यक्ष संगीत प्रस्तुति क्रममा तारा देवीका सदाबहार गीतहरू गुञ्जिँदा कार्यक्रमस्थल भावुक वातावरणले भरिएको थियो । उहाँका गीतहरूले दर्शक तथा श्रोताहरूलाई भावनात्मक बनाएको थियो भने नयाँ पुस्ताले पनि उहाँको संगीतको गहिरो प्रभाव अनुभूति गर्ने अवसर पाएका थिए ।
समारोहमा वरिष्ठ कलाकार किरण खरेल, संगीतकार दीपक जंगम तथा संगीतकर्मी एवं काठमाडौं महानगरपालिकाका पूर्वप्रमुख विद्यासुन्दर शाक्य लगायतले तारादेवीको नेपाली संगीतमा योगदानबारे चर्चा गरे ।
समारोहकै अवसरमा नेपाली गीत–संगीतको विकासमा उल्लेखनीय योगदान पु¥याएका स्रष्टाहरूलाई सम्मानसमेत गरिएको थियो । सम्मानित हुने व्यक्तित्वहरूमा गीतकार माधवप्रसाद खनाल, संगीतकार शिवशंकर मानन्धर तथा चर्चित गायिका संगीता राना प्रधान रहनुभएको थियो । सम्मान ग्रहण गर्दै स्रष्टाहरूले तारा देवीजस्ता महान् कलाकारको स्मृतिमा आयोजना गरिने कार्यक्रमले नेपाली संगीतको गरिमा अझ उचो बनाउने विश्वास व्यक्त गरे ।
आयोजक संस्था तारा देवी स्मृति फाउन्डेसनका अध्यक्ष दिपक केसीले तारा देवी नेपाली संगीतकी प्रेरणादायी हस्ती भएको उल्लेख गर्दै उहाँका गीत, स्वर र योगदान सदैव स्मरणीय रहने बताए । यस्ता कार्यक्रमहरूले पुराना स्रष्टाको योगदानलाई उजागर गर्नुका साथै नयाँ पुस्तालाई नेपाली गीत–संगीतप्रति आकर्षित र प्रेरित गर्ने विश्वाससमेत उहाँले व्यक्त गरे । समारोहमा विभिन्न कलाकारले आफ्ना गीत सुनाएका थिए ।


