ब्युटी न्युज नेपाल
काठमाडौँ, ११ माघ
नेपाली प्रेम कथानक चलचित्र ’कुमारी’को ट्रेलर काठमाडौंको भृकुटीमण्डपस्थित खुला स्थानमा कन्सर्टबिच सार्वजनिक गरिएको छ। करिब दश हजारभन्दा बढी दर्शकको प्रत्यक्ष उपस्थितिमा ट्रेलर रिलिज गरिएको निर्माण पक्षको दाबी छ । यो चलचित्र २३ माघमा नेपालमा रिलिज हुँदैछ ।
ट्रेलर सार्वजनिक कार्यक्रममा चलचित्रका पाश्र्व गायक केहर सिं लिम्बु र उनको ब्यान्ड ’केहर एन्ड द लुङा’ले यो चलचित्रका चर्चित गीतसहित आफ्ना गीत प्रस्तुत गरे । चलचित्रका निर्देशक दिनेश राउत र निर्माता महेन्द्र अधिकारीले दर्शकको उपस्थिति राम्रो भएका कारण खुसी व्यक्त गरे । कार्यक्रममा उपस्थित लभस्टोरी चलचित्रका सुरस्टार आर्यन सिग्देल र ’शाम्बाला’ चलचित्रकी अभिनेत्री थिन्ले ल्हामोले अबिषेक र आकृतिलाई शुभकामना दिए।
समारोहमा यो चलचित्रका डेब्यु कलाकारहरू अबिषेक खड्का र आकृति राजभण्डारीले हजारौँ दर्शकसँग प्रत्यक्ष साक्षात्कार गरे । उनीहरुले चलचित्रमा आफ्नो भूमिकाबारे जानकारी गराए ।
शनिबार सार्वजनिकट्रेलरमा देखिने पुरुष पात्र (अबिषेक खड्का) संवेदनशील, रिसाहा र परिस्थितिले थिचिएको युवक देखिन्छ। संवादभन्दा बढी हाउभाउ, आँखाको भाव र मौन अभिनयमार्फत प्रेमभित्रको असहायपनलाई सशक्त रूपमा प्रस्तुत गरिएको छ। ऊ प्रेममा पूर्ण समर्पित छ, तर समाज र परिस्थितिसँग निरन्तर सङ्घर्ष गरिरहेको सङ्केत ट्रेलरले दिन्छ।
त्यसै गरी महिला पात्र (आकृति राजभण्डारी) केवल प्रेमिका मात्र नभई आत्मसम्मान, मौन विद्रोह र भावनात्मक साहसको प्रतीकका रूपमा उभिएकी देखिन्छिन्। उनको आँखामा देखिने डर, मौनतामा लुकेको पीडा र निर्णयका क्षणमा देखिने कठोरताले पात्रलाई अझ बलियो बनाएको छ। ट्रेलरले चलचित्र ’हेर्नु मात्र होइन, महसुस गर्नुपर्ने कथा’ भएको अनुभूति गराउँछ।
विनिश इन्टरटेन्मेन्टको ब्यानरमा महेन्द्र अधिकारीद्वारा निर्मित तथा विकास सुवेदीद्वारा लिखित चलचित्र ’कुमारी’मा नयाँ अनुहार अबिषेक खड्का र आकृति राजभण्डारीका साथै घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकाङ्क्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ, सकु शाह, सरोज लामिछाने, मनषा शर्मालगायत कलाकारको अभिनय रहेको छ। छायाङ्कन सुसन प्रजापतिले गरेका छन् भने सम्पादन तथा कलर ग्रेडिङ सुप्रिम पराजुलीको, साउन्ड डिजाइन उत्तम न्यौपानेको रहेको छ।
यो चलचित्रको सबै गीतमा स्वर केहर सिंह लिम्बुले दिएका छन् भने सङ्गीतमा सुमन तामाङको सहभागिता रहेको छ। गीतका शब्द सागर लामिछाने मगर र सुमन तामाङले लेखेका छन् ।
‘आइ एम सरी’बाट निर्देशन यात्रा सुरु गरेका निर्देशक दिनेश राउत ‘नोभेम्बर रेन’ र ‘क्लासिक’ जस्ता सफल प्रेमकथाका लागि चिनिन्छन्। पछिल्ला वर्षमा सामाजिक विषयमा केन्द्रित चलचित्रहरू ’प्रसाद’, ’प्रकाश’, ’पुजार सार्की’ निर्देशन गरेका आएका राउतले दर्शकको रुचिअनुसार फेरि प्रेमकथामा फर्किएको बताए ।


