ब्युटी न्युज नेपाल
काठमाडौँ, ३० पुस
यही शुक्रबार २ माघबाट सोमबार ५ माघसम्म ४ दिन १४ औँ संस्करणको ‘नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव–२०२६’ आयोजना हुने भएको छ । महोत्सवमा यसपटक नेपालसहित २० देशका ४३ वटा चलचित्र छनौट भएका छन् ।
चलचित्र विकास बोर्ड चावहिल, काठमाडौँमा आयोजना हुने यो महोत्सवमा नेपाली समूहमा करिब चार दर्जन भन्दा बढी चलचित्र, वृत्तचित्र एवम् लघु चलचित्रबाट २० वटा चयन गरिएको महोत्सव निर्देशन डब्बु क्षत्रीले बताए ।
कलेज अफ जर्नालिजम एन्ड मास कम्युनिकेसन, विलक्षण क्रियसन प्रा.लि.को आयोजना र चलचित्र विकास बोर्डको सहकार्यमा यो महोत्सव आयोजना हुँदैछ । सो कलेजकी प्रिन्सिपल एवम् महोत्सवकी अध्यक्ष डा. मञ्जु मिश्रका अनुसार यो पटक महोत्सवमा चलचित्र प्रदर्शनसँगै अन्तरक्रिया, नृत्य कार्यशाला, कला प्रदर्शनी, मास्टर क्लास पनि सञ्चालन गरिँदैछ ।
महोत्सवमा नेपाली कथानक चलचित्र तर्फ १३ वटा चलचित्रबाट पाँच नेपाली चलचित्र फाईनललाई चयन भएका छन् । जसमा ओस्कारमा जान सफल मिलन चाम्स निर्देशित चलचित्र ‘अञ्जिला’, निर्देशक सरोज पौडेलको चलचित्र ‘कोशेढुँगा’, निर्देशक ऋषी लामिछानेको चलचित्र ‘माग्ने राजा’, निर्देशक दीपक प्रसाद आचार्यको यो वर्षकै सर्वाधिक सफल चलचित्र ‘परान’ र निर्देशक नर प्रधान (मित्र)को चलचित्र ‘यो मन त मेरो नेपाली हो’ चयन भएको छ ।
यस्तै वृत्तचित्र तर्फ भिम लाल श्रेष्ठ निर्देशित ‘अरिंगाल म्यान’, रमेश खड्का निर्देशित ‘डान्सिङ इन फायर’ र निशा मानन्धर निर्देशित ‘अ बडी नट माइन्ड’ चयन भएका छन् । खुला र विद्यार्थी समुह गरेर १० वटा लघु चलचित्र प्रदर्शन गरिँदै छ । जसमा विद्यार्थी तर्फ विनोद पाण्डे निर्देशित ‘अ कलर फुल नाइट’, प्रसन्न माली निर्देशित ‘अन्त वार्ता’, समीर राई निर्देशित ‘पेज फाईव’ र अश्विनी थापाको ‘ इकोज अफ होप’ रहेको छ ।
यस्तै खुला लघु चलचित्र तर्फ सौगात विष्ट निर्देशित ‘भुवा’, रुशिल अमात्य निर्देशित ‘मौनता’, कमल एक्चै मगर निर्देशित ‘अवशेष’, गोविन्द प्रसाद ढकाल निर्देशित ‘साईलेन्ट स्कार्ड’ र मोहन श्रेष्ठ निर्देशित ‘दृश्य’ महोत्सवमा प्रदर्शन गरिँदैछ । ५ वटा चयन भएका छन् । आदिवासी तर्फ सागर केरुङ निर्देशित ‘तान्सिङ’, दिलिप फुरुम्बो निर्देशित नाम ओती र सेमक्वा गरी तीन चलचित्र प्रतिस्पर्धामा रहेको छ ।
नेपाल बाहेक अफ्रिकी र अन्तर्राष्ट्रिय समूहबाट १९ देशका २३ वटा लामा छोटा चलचित्रहरू यो महोत्सवका लागि चयन गरिएको छ । यो वर्ष अन्तर्राष्ट्रिय तर्फ यस पटक ४० भन्दा बढी मुलुकका करिब ९० वटा चलचित्रको आवेदन परेकोमा अन्तर्राष्ट्रिय विधा तर्फ लघु चलचित्रको प्रतिस्पर्धामा १५ वटा लघु चलचित्र चयन भएका छन् । तीन वटा बृत्तचित्र, दुई वटा कथानक चलचित्र र तीन वटा अफ्रिकन चलचित्र चयन भएका छन् ।
जसमा इन्डोनेसियाबाट लघु चलचित्र ‘इक्लिप्से’, ताइवानबाट ‘द इल्डर क्र्याब’, टर्कीबाट ‘आईएम नट वर्क एनिमोर’, सर्भियाबाट लघु चलचित्र ‘कास्ट’ चयन भएका छन् । यसै गरी संयुक्त राज्य अमेरिकाबाट यस पटक दुई वटा लघु चलचित्र ‘ग्राम्पी ओल्ड म्यान’ र ‘द जब’ रहेका छन् । बंगलादेशबाट ‘नो डाइस’, ‘लेटर अफ द फलेन लभर्स’, इरानबाट लघु चलचित्र ‘भोयउर’ र ‘द रोप’, फ्रान्सबाट लघु चलचित्र ‘अगस्ट १७ एट फाईभ पि एम’, श्रीलंकाबाट ‘सायाम’, अस्ट्रियाबाट ‘रेभेनान्ड’, भारतबाट ‘ब्ल्यु’, हङकङबाट लघु चलचित्र ‘पेपर रिङ’ अन्तिम प्रतिस्पर्धामा छन् ।
यस्तै यो महोत्सवमा अन्तर्राष्ट्रिय कथानक चलचित्र तर्फ बंगलादेशबाट ‘मेमोरी अफ ग्लुमी मनसुन’ र कोेष्ट डी आईभोरीबाट चलचित्र ‘साईलेन्स मोर्टेल’ अन्तिम प्रतिस्पर्धाको लागि चयन भएका छन् ।
यसै गरी यो महोत्सवमा अन्तर्राष्ट्रिय वृत्तचित्र तर्फ युक्रेनबाट युद्ध सम्बन्धी वृत्तचित्र ‘द स्केडुलेड अफ फाइटिङ टु लर्न’, स्टोनियाबाट ‘अटिस्ट अफ सर्भिलय’, जर्मनीबाट ‘गर्लस् डन्ट प्ले स्पोर्टस्ट’ चयन भएका छन् । यी तीन मध्य एकले उत्कृष्ट अन्तर्राष्ट्रिय वृत्तचित्रको अवार्ड चुम्ने छन् ।
यस्तै अफ्रिकन चलचित्र तर्फ इजिप्टबाट चलचित्र ‘द मंकी’, ट्युनेशियाबाट चलचित्र ‘मेट्रो पोलिस’ र मोरक्कोबाट चलचित्र ‘द चेम्बर’ गरी तीन चलचित्र अन्तिम प्रतिस्पर्धाको लागि चयन भएका छन् । यी चलचित्रबाट उत्कृष्ट हुनेले सर्वोत्कृष्ट अफ्रिकन चलचित्रको अवार्ड जित्ने भएका छन् ।
३० जनालाई नृत्य प्रशिक्षणमा सहभागी गराइने छ । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान र चलचित्र विकास बोर्डको सहकार्यमा नृत्य प्रशिक्षण आयोजना गर्न लागिएको हो । महोत्सव स्थल चलचित्र विकास बोर्डको प्रांगनमा ‘ सिनेमा, कल्चर एन्ड नेचर’ शीर्षकमा चार दिनसम्म चित्रकला प्रदर्शनी पनि गरिने भएको छ । महोत्सवमा विभिन्न देशबाट १० जना विदेशी चलचित्रकर्मी पनि यस पटक सहभागी हुने भएका छन् ।
महोत्सव निर्देशक डब्बु क्षत्रीका अनुसार पछिल्लो वर्षबाट नेपाल अफ्रिका चलचित्र महोत्सवलाई विश्वका चलचित्र समेट्ने उद्देश्य सहित ‘नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ नामांकन गरिएको हो ।


