ब्युटी न्युज नेपाल
काठमाडौँ, १७ पुस
मधेशको अपराधलाई मुख्य कथा बनाएर निर्माण गरिएको चलचित्र ‘प्रतिवैरम’ को बुधबार काठमाडौम्मा एक समारोहबिच टिजर सार्वजनिक गरिएको छ । निर्देशक रोशन दासको निर्देशनमा निर्माण भएको यो फिल्म मधेस केन्द्रित सामाजिक तथा राजनीतिक विषयवस्तुमा आधारित छ । यस चलचित्रको सार्वजनिक टिजरले सिनेमा पूर्ण एक्सन र मधेशमा हुने अपराधको बिषयमा बनेको झल्को दिन्छ। सार्वजनिक टिजरमा दाइजोको कुरा र दाजु बहिनीको प्रेम सम्बन्ध पनि देखाउन खोजिएको छ।
निर्माण पक्षका अनुसार ‘प्रतिवैरम’ २०८३ सालको जेठ महिनामा प्रदर्शनमा ल्याउने तयारी भइरहेको छ। नेपाली, हिन्दी, मैथिली र भोजपुरी भाषामा निर्माण गरिएको यो चलचित्र बहुभाषिक स्वरूपको रहेको छ। चलचित्रको डिजिटल अधिकार युना डिजिटलले खरिद गरेको छ।
निर्देशक रोशन दासका अनुसार ‘प्रतिवैरम’ सम्राट दासको डेब्यु चलचित्र भए पनि यो भूमिका उनको करियरकै महत्वपूर्ण र सम्झनलायक बन्ने विश्वास लिइएको छ ।
चलचित्रमा सम्राट दास, सुप्रज्ञा शर्मा,बिरेन्द्र कुशवाहा, आलिशा बस्तोला, रोन्नी यादव, बिकि शाह,नवीन श्रेष्ठ,गीता श्री, अशिष डीके, प्रदीप ढकाल, नारायण बी.के., बिके शाह, रामेश बुढाथोकी लगायत कलाकारहरूको अभिनय रहेको छ । मुख्य अभिनेता सम्राट दास प्रभावशाली अवतारमा देखिएका छन्।
रेज इन्टरटेनमेन्टले किङ वाईटीसँग सहकार्यमा निर्माण गरेको यस चलचित्रका प्रोडक्सन म्यानेजर कमल सुनार हुन् भने लाइन प्रोडक्सनको जिम्मेवारी पंकज महतोले सम्हालेका छन्। चलचित्रको सम्पादन कविर वोडले गरेका हुन् । निर्देशक रोशन दासका अनुसार मधेसका वास्तविक कथा, सौन्दर्य र सामाजिक–राजनीतिक समस्यालाई यथार्थपरक ढंगले प्रस्तुत गर्ने उद्देश्यले चलचित्र निर्माण गरिएको हो।
चलचित्रमार्फत मधेसको वास्तविक जीवन र संवेदनालाई दर्शकमाझ पु¥याउने योजना रहेको उनले बताए। चलचित्रको कथा निर्देशक दास स्वयंको हो भने पटकथा युवराज भट्टराईले लेखेका हुन्।


