ब्युटी न्युज नेपाल
काठमाडौँ, १८ पुस
नेपाली चलचित्र ‘एक्लो–१’ आज बिहीबारबाट देशभरका विभिन्न चलचित्र घरमा एकसाथ रिलिज भएको छ । कार्यकारी निर्माता विनोद सुवेदी ‘क्षितिज’ अनुसार यो चलचित्र मुलुकका १२० भन्दा बढी चलचित्र घरबाट प्रदर्शनमा आएको हो । नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय बजारमा फरक ढङ्गले प्रस्तुत गर्ने उद्देश्यसहित निर्माण गरिएको ‘एक्लो–१’ ले कथा, प्रस्तुति तथा प्राविधिक पक्षमा नयाँपन ल्याउने अपेक्षा गरिएको छ। फरक धारको कथावस्तु र सशक्त निर्माणका कारण चलचित्रले मध्यपूर्वसहित अन्तर्राष्ट्रिय बजारका नेपाली दर्शकमाझ सकारात्मक प्रतिक्रिया पाउने विश्वास गरिएको छ ।
चलचित्रमा प्रदीप खड्का, विजय लामा, सुनील थापा, दिया पुन, वेनिशा हमाल, दिनेश डीसी, कविता नेपाली, सुरजसिंह ठकुरी, एवन राज उप्रेती, त्रिचु राई, कृष्णभक्त महर्जन, विकास अधिकारी, दिग्गज खत्री, विनोद सुवेदी ‘क्षितिज’, श्रीशेष श्रेष्ठ, बाल कलाकार जेमिन श्रेष्ठ र स्योन सविक सिंहलगायतका कलाकारहरूको अभिनय रहेको छ । एक्लो–१’मा बेलायती अभिनेता जेमी बेकनले समेत मुख्य भूमिका निभाएका छन् ।
तीन दिन अघिमात्र यो चलचित्रको अमेरिकाको न्युयोर्कस्थित विश्वप्रसिद्ध म्युजियम अफ द मुभिङ इमेज रेड कार्पेट वल्र्ड प्रिमियर गरिएको थियो । प्रिमियरमा चलचित्रले राम्रो प्रशंसा पायो । अभिनेता प्रदीप खड्का लगायत टिम अमेरिकाको प्रिमियर सम्पन्न गरेर काठमाडौँ फर्किएका छन् ।
प्रदीप शाहीको लेखन तथा निर्देशनमा बनेको यो चलचित्रले एक्सन, ड्रामा र भावनात्मक तत्वको सन्तुलित संयोजनमार्फत दर्शकलाई अविस्मरणीय अनुभव दिने भनाई निर्माता क्षितिजको छ । यो चलचित्र साइन्स–फिक्सन जनरामा आधारित रहेको छ ।
एनआरएन समूहको लगानीमा निर्माण भएको यस चलचित्रका कार्यकारी निर्माता विनोद सुवेदी ‘क्षितिज’ हुन्। चलचित्रको छायाङ्कन बाबु श्रेष्ठले गरेका छन् भने द्वन्द्व निर्देशन राजु तामाङ, सेट डिजाइन राजु पेन्टर, कला निर्देशन सन्तोष लामा र प्रोडक्सन डिजाइन द्रोणप्रसाद पौडेल ‘ठेउके’ ले सम्हालेका छन्।
आधारित यस चलचित्रका निर्देशक प्रदीप शाही बेलायतमा बसेर चलचित्र निर्माणमा सक्रिय छन्, र ‘एक्लो–१’ उनको तेस्रो निर्देशन हो। हलिउडस्तरको भिजुअल, प्रविधि र कथावस्तु प्रस्तुत गर्ने लक्ष्यसहित चलचित्र निर्माण गरिएको हो।


