ब्युटी न्युज नेपाल
काठमाडौं, १३ पुस
अनस्क्रिन जोडीको रुपमा चलचित्र ‘कार्साङ्’मा प्रस्तुत भएका दयाहाङ र सृजना निङलेखु फेरी चलचित्र ‘मिरमिरे’मा पनि प्रस्तुत हुँदैछन् । माघ १ मा चलचित्र ‘मिरमिरे’ रिलिज हुँदैछ । ‘कार्साङ्’ निर्देशन यम शेर्पाले ‘मिरमिरे’मा यी दुईलाई फेरीसँगै उतारेका हुन् ।
यमले नै तीनजना अथवा निर्देशक र मुख्य कलाकार (नायक/नायिका) फेरि एक ठाउँ भएर काम गर्ने मेसो मिलाएका हुन् । किन निर्देशक यमले आफ्नो दोस्रो चलचित्रमा पनि दयाहाङ र सिर्जनालाई नै लिए ?
“एकपटक काम गरिसकेपछि त्यही व्यक्तिसँग काम गर्न सहज हुने रहेछ । पहिलोपटक काम गर्दा नै उसको काम गर्ने तरिका र शैली थाहा हुन्छ, आनीबानी पनि थाहा हुन्छ,” जवाफमा निर्देशक यम भन्छन् “दोस्रो कुरा दयाहाङ राई यसै भने सबैले रुचाएको सर्वप्रिय नायक हुनुहुन्छ । नायिकाको सन्दर्भमा पहिलो सिनेमामा सँगै काम गरेकाले सहज हुने कुराले दोहोर्याएको हो ।”
चलचित्रको कथाले पनि दयाहाङ र सिर्जना जस्तै पात्र मागेकाले स्क्रिप्टमा बस्दादेखि नै आफ्नो दिमागमा दयाहाङ र सिर्जना रहेको उनले सुनाए । कथाको माग र पहिलो पनि सँगै काम गरेकाले सहजताको अपेक्षाले निर्देशक र मुख्य कलाकारबीचर त्रिकोणात्मक सहकार्य दोहोरिएको निर्देशम यम प्रष्ट पार्छन् ।
यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’मा दयाहाङ र सिर्जनासँगै मुख्य भूमिकामा प्रकाश सपूत पनि छन् । दयाहाङ र प्रकाशको यो पहिलो सहकार्य हो । माघ १ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘मिरमिरे’मा शाइसा गौचन अर्को मुख्य पात्र हुन् । उनले दयाहाङको छोरीको भूमिका निभाएकी छन् ।


