ब्युटी न्युज नेपाल
काठमाडौँ, १३ पुस
आगामी २१ फागुनमा प्रतिनिधि सभाको निर्वाचन हुने माहौल बन्दै गएको बेला सोही निर्वाचन तयारीको झल्को दिन गीत यति बेला रिलिज भएको छ । आइतबार ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको चलचित्र ‘बिगुल’को ‘आउ यस्तो देश बनाऔं’ ले संसदीय निर्वाचन तयारीको झल्को दिएको छ ।
रमाईलो प्रसँग के भने यो गीतलाई नेपाली काग्रेस महामन्त्री बिश्वप्रकाश शर्माले लेखेका हुन् । गीतमा संगीत पनि उनकै रहेको छ । यो गीतलाई गीत राजेश पायल राईले गाएका हुन् । गीतमा चलचित्रका सबै प्रमुख कलाकार प्रस्तुत भएका छन् ।
जेन्जी आन्दोलनप्रति समर्पित चलचित्रमा बेनीशा हमाल,नरेन खड्का, रमेश बुढाथोकी,नीर शाह,सरोज खनाल,हेमन्त बुढाथोकी,शिसिर वाङ्देल,बिनोद न्यौपाने,जेएन घिमीरे,गीता अधिकारी,मीरा पण्डित,मानश्री शर्मालगायतको अभिनय छ ।
रमेश कोइरालाको निर्देशन अनि दिनेश कोइरालाको कथा र निर्माण रहेको ‘बिगुल’ माघ ९ गतेबाट देशब्यापी प्रदर्शनमा आउदैछ । ओएसआर डिजिटलबाट सार्वजनीक गीतमा देशप्रेम,राष्ट्रभक्ति,समाबेशीता,शान्ति र जनजागरणको सन्देश प्रस्तुत गरिएको छ । राष्ट्रिय झण्डासहित देशमा सुसाशन,बिकास र शान्तिको सन्देश फैलाउन कलाकारहरु घरदैलो जागरणात्मक अभियानमा लागेको देखाइएको छ ।
कल्पना पौडेलको प्रस्तुति रहेको चलचित्रको फस्र्टलुक पोस्टर,टिजर र युगल गीतले समेत दर्शक,स्रोताको मन जितिरहेको छ । गीतमा आमजनताको आवाज मुखरित भएको दावी निर्माण पक्षको छ ।
‘‘बिगुल’ भुइँमान्छको कथा र समृद्ध नेपालको कल्पनालाई आव्हान गरिएको चलचित्र हो,’ निर्देशक कोइराला भन्छन्, ‘देशको समसामयिक घटनाक्रम अनि राजनैतिक बिषयमा आधारित कथाबस्तु भए तापनि चलचित्र पूर्ण ब्याबसायिक ध्ययेले निर्माण गरेका हौं । चलचित्रमा समाज जागरणको सन्देशका साथमा भरपुर मनोरञ्जन प्रस्तुत गरेका हौं ।’
म्याग्नोलिया ग्रुपको ब्यानर महेश कोइराला र सूर्यकान्त कोइराला सहनिर्माता रहेको चलचित्रको पटकथा र सम्वाद प्रदिप भारद्वाज र मौनता श्रेष्ठले लेखेका हुन् । शिब ढकालको छायाङकन,कमल राई र कविराज गहतराजको नृत्य निर्देशन,एनवी महर्जनको द्वन्द्व निर्देशन,बिश्वप्रकाश शर्मा,अर्जुन पोखरेल र मनोज चौलागाईंको संगीत रहेको चलचित्रकोे सम्पादन तारा थापा ‘किम्भे’ ले गरेका हुन् । चलचित्र राजधानीभित्र काफिया फिल्म्स् र मोफसलमा श्री ब्याङ्केट्स इन्टरटेन्मेन्टले बितरण गर्दैछ ।


