ब्युटी न्युज नेपाल
काठमाडौँ, ११ पुस
अभिनेत्री बेनिशा हमाल पनि चलचित्र निर्माणमा उत्रिएकी छिन् । उनी कार्यकारी निर्माता रहेको नेपाली साइकोलोजिकल थ्रिलर जनराको चलचित्र ‘द ब्ल्यू लाइट’को टिजर बिहीबार बेलुका सार्वजनिक गरिएको छ । क्रिसमसको अवसर पारेर मौरी पिक्चर्सको युट्युब च्यानलबाट टिजर सार्वजनिक गरिएको अभिनेत्री एवम् निर्माता बेनिशाले जानकारी गराईन् ।
यो चलचित्रमा बेनिशा हमालसँगै अर्पण थापा, आयुसमान देशराज जोशी, सृष्टि श्रेष्ठ, महेश त्रिपाठी र सुरक्षा इटानी छन् । चलचित्रमा बाल कलाकारमा ग्रिस्मा कटुवाल र सहारा शर्मा छन् । यो चलचित्रको टिजरमा महेश त्रिपाठी र बेनिशा हमालको संवादसँग उनीहरुको मायाप्रेम, प्रतिशोध पछि हत्यासम्म देखाइएको छ ।
अभिनेत्री बेनिशाका अनुसार टिजर सार्वजनिकसँगै यो सिनेमा रिलिजको नयाँ मिति पनि घोषणा गरिएको छ । १० पुस क्रिसमसमा रिलिज गर्ने भनिए पनि चलचित्रको भिएफएक्सको काम नसकिएकाले रिलिज सारिएको निर्माण पक्षले जनाएको छ । अब यो चलचित्र माघ १६ गते चलचित्र घरमा आउने भएको छ । यो चलचित्रलाई बलिराम चौहानले निर्देशन गरेका हुन् ।
स्काइफल पिक्चर्सले प्रस्तुत गरेको ‘द ब्ल्यू लाइट’को को–प्रोडुसरको रुपमा भोलानाथ कटुवाल र रमन ग्रे रहेका छन् । कार्यकारी निर्मातामा भने छायाकार नरेन्द्र मैनालीसँगै अभिनेत्री बेनिशा हमाल छिन् । नरेन्द्र मैनाली छायांकार रहेको चलचित्रका रेलिजा श्रेष्ठ प्रोडक्सन डिजाइनर, दिलीप पन्त निर्माण नियन्त्रक हुन् ।


