ब्युटी न्युज नेपाल
काठमाडौँ, ३ पुस
अबको ठिक एक महिनापछि आयोजना हुने १४ औँ संस्करणको ‘नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव–२०२६’ को लागि नेपाली चलचित्रको मनोनयन सूची आयोजक टिमले चयन गरेको छ ।
यो महोत्सब आगामी ३ माघ देखि ५ माघसम्म तीन दिन काठमाडौँमा आयोजना हुने भएको छ । यो महोत्सवका लागि नेपाली समूहमा करिब चार दर्जन भन्दा बढी चलचित्र, वृत्तचित्र एवम् लघु चलचित्र सहभागी भएका थिए । जस मध्यबाट लामा छोटा गरेर १८ वटा चलचित्र चयन गरिएको आयोजक पक्षले जनाएको छ ।
महोत्सव आयोजक संस्था कलेज अफ जर्नालिजम एन्ड मास कम्युनिकेसनकी प्रिन्सिपल एवम् महोत्सवकी अध्यक्ष डा. मञ्जु मिश्रका अनुसार यो पटक महोत्सवमा नेपाल सहित १९ देशका ४० चलचित्रहरू प्रदर्शनी गरिने भएको छ ।
महोत्सवमा नेपाली कथानक चलचित्र तर्फ १३ वटा चलचित्रको आवेदन परेको थियो । पछिल्लो एक वर्ष भित्र प्रदर्शन भएको नेपाली १३ चलचित्र मध्य पाँच वटा चलचित्रलाई फाइनलको रूपमा सार्वजनिक गरिएको पनि अध्यक्ष डा. मिश्रले बताएकी छिन् । उनका अनुसार कथानक चलचित्रमा यो वर्ष नेपालको प्रतिनिधित्व गर्दै ओस्कार अवार्डमा जान सफल मिलन चाम्स निर्देशित चलचित्र ‘अञ्जिला’, निर्देशक सरोज पौडेलको चलचित्र ‘कोशेढुँगा’, निर्देशक ऋषी लामिछानेको चलचित्र ‘माग्ने राजा’, निर्देशक दीपक प्रसाद आचार्यको यो वर्षकै सर्वाधिक सफल चलचित्र ‘परान’ र विभिन्न अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा अवार्ड जित्न सफल निर्देशक नर प्रधान (मित्र)को चलचित्र ‘यो मन त मेरो नेपाली हो’ चयन भएको छ ।

यस्तै वृत्तचित्र तर्फ भिम लाल श्रेष्ठ निर्देशित ‘अरिंगाल म्यान’, रमेश खड्का निर्देशित ‘डान्सिङ इन फायर’ र निशा मानन्धर निर्देशित ‘अ बडी नट माइन्ड’ चयन भएका छन् । महोत्सवलाई प्राप्त आठ वृत्तचित्रबाट यी तीन वृत्तचित्र फाइनलको लागि चयन भएका हुन् ।
यस्तै महोत्सवलाई २३ वटा लघु चलचित्र प्राप्त भएकोमा खुला र विद्यार्थी गरेर दुई समूहमा १० वटा लघु चलचित्र चयन गरिएको छ । जसमा विद्यार्थी तर्फ विनोद पाण्डे निर्देशित ‘अ कलर फुल नाइट’, प्रसन्न माली निर्देशित ‘अन्त वार्ता’, समीर राई निर्देशित ‘पेज फाईव’ र अश्विनी थापाको ‘ इकोज अफ होप’ रहेको छ ।

यस्तै आदिवासी र खुला लघु चलचित्र तर्फ ६ वटा चयन भएका छन् । जसमा सौगात विष्ट निर्देशित ‘भुवा’, रुशिल अमात्य निर्देशित ‘मौनता’, कमल एक्चै मगर निर्देशित ‘अवशेष’, सागर केरुङ निर्देशित ‘तान्सिङ’, गोविन्द प्रसाद ढकाल निर्देशित ‘साईलेन्ट स्कार्ड’ र मोहन श्रेष्ठ निर्देशित ‘दृश्य’ फाइनलको लागि चयन भएका छन् । यी चलचित्र, वृत्तचित्र एवम् लघु चलचित्रले विभिन्न विधामा अवार्ड जित्ने छन् ।
महोत्सवमा अन्तर्राष्ट्रिय तथा अफ्रिकी चलचित्रहरू अहिले प्रारम्भिक निर्णायक समूहले हेरेर फाइनलको लागि चयनको कार्य गरिरहेको पनि डा. मिश्रले जानकारी गराएकी छिन् । अफ्रिका र अन्तर्राष्ट्रिय समूहका सबै चलचित्रको विवरण तीन दिन पछि सार्वजनिक गरिने पनि उनले बताएकी छिन् । अफ्रिकालाई अफ्रिकन लेन्सबाटै हेरौँ भन्ने उद्देश्यले आफूहरूले यो महोत्सव आयोजना गर्दै आएको पनि डा. मिश्रले जानकारी गराएकी छिन् ।
महोत्सव निर्देशक डब्बु क्षत्रीका अनुसार यसपटक यो महोत्सवलाई चलचित्र विकास बोर्डमा आयोजना गरिने भएको छ । महोत्सवमा चलचित्र नृत्य कार्यशाला, सेल्म मेकअप कार्यशाला, प्यानल डिसकस, कला प्रदर्शनी पनि गरिने भएको छ । उनका अनुसार पछिल्लो वर्षबाट नेपाल अफ्रिका चलचित्र महोत्सवलाई विश्वका चलचित्र समेट्ने उद्देश्य सहित ‘नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ नामांकन गरिएको हो ।


