यसराजको लोकन्ती पाँच दर्जन हलमा रिलिज


ब्युटी न्युज नेपाल
काठमाडौँ, २६ मंसिर

अभिनेता यसराज गराचले पाँच वर्ष पछि अभिनय गरेको नेपाली चलचित्र ‘लोकन्ती’ आज शुक्रबारबाट मुलुकका चलचित्र घरमा रिलज भएको छ । यो चलचित्र नेपालका करिब पाँच दर्जन चलचित्र घरमा रिलिज भएको यसका निर्देशक रञ्जित रानाले बताएका छन् । आज एकसाथ तीन नेपाली चलचित्र रिलिज भएको कारण पनि शो केही कम पाएको देखिन्छ ।

हास्य प्रधान सामाजिक जनरामा निर्माण गरिएको यो चलचित्रका निर्माता सन्तोष न्यौपाने हुन् । लोकन्तीमा यसराज गराचसँगै, ऋचा थापा, विमला लिम्बु, कुमार न्यौपाने, विकाश अधिकारी, दमन रुपाखेती, गोविन्द प्रभातलगायत कलाकारहरूको अभिनय रहेको छ । अभिनेता विकाश अधिकारी र कुमार न्यौपानेले यो चलचित्रबाट डेब्यु गरेका हुन् ।

विवाहमा बिगतमा बेहुलीसँग साथी(महिला) अर्थात लोकन्ती पठाउने चलन थियो । अहिले हराईसकेको यो चलनलाई यस चलचित्रमा देखाइएको छ । कृशन फिल्म्सको ब्यानरमा निर्माण भएको यो चलचित्रमा विकास चौधरी संगीत, रोनिश तामाङ च्याङ्बाको छायांकन, गौतम राज खड्काको सम्पादन, काजी लिम्बुको कथा रहेको छ ।