डा. सुबोधकुमारको गीत र दीपकको संगीतमा आयो एल्बम ‘परेली’


ब्युटी न्युज नेपाल
काठमाडौँ, २३ मंसिर

नेपालका यौन समस्या विशेषज्ञका रुपमा परिचित चलचित्र निर्माता निर्देशक तथा गीतकार डा. सुबोधकुमार पोखरेलको एकल रचना तथा संगीतकार दीपक शर्माको एकल संगीतमा ६ वटा गीतसहितको सँग्रह ‘परेली’ श्रोता माझ आएको छ । काठमाडौँमा एक समारोहबीच यो सँग्रहको हिजो अग्रज निर्देशक नीर शाहसहितले विमोचन गरे । कार्यक्रममा सो सँग्रहका दुईवटा गीतको भिडियो पनि देखाईयो ।

डा. पोखरेलका यि गीतहरूमा नरेन्द्र बियोगीले एकल रुपमा संगीत संयोजन गरेका छन् । ती गीतमा गायक गायिका राजेश पायल राई, अञ्जु पन्त, शिव परियार, प्रमोद खरेल, प्रवीण बेडवाल, रचना रिमाल र वेनिशा पौडेलले स्वर दिएका छन् ।

कार्यक्रममा सार्वजनिक गरिएको दुई वटा भिडियोको निर्देशन पनि डा. पोखरेलले नै गरेका हुन् । उनी मनकामना, मिलन जस्ता चलचित्रका निर्देशक पनि हुन् । आगामी दिनमा पनि चलचित्र निर्माण निर्देशन गर्ने लक्ष्य उनले लिएका छन् । दुबै गीतको भिडियो ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको छ ।

सो विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै अग्रज कलाकार एवम् गीतकार शाहले डा. पोखरेल चलचित्र निर्देशनसँगै राम्रा गीत रचना गर्ने गीतकार भएको बताए । उनका बजारमा आएका नयाँ गीतहरु नवीनतम् शैलीका भएको पनि शाहले बताए । गीतमा संगीतकार दीपक शर्माको संगीतको पनि उनले खुलेर प्रसँसा गरे ।

डा. सुवोध कुमार पोखरेलले लामो समयदेखि गीति सँग्रह ल्याउने चाहना भए पनि बल्ल समय जुरेको बताए । सँग्रहका गीतमा दीपक शर्माको संगीत नविनतम भएको र त्यसमा कलाकारहरुको स्वर जादुयी भएको पनि उनले जिकिर गरे । आफ्नो व्यानरबाट गीत, संगीत तथा म्युजिक भिडियो निर्माणसँगै चलचित्र निर्माण गर्ने लक्ष्य समेत भएको सो कार्यक्रममा घोषणा गरे ।

कार्यक्रममा पत्रकारद्वय प्रकाश सुवेदी, टिकाराम यात्रीलगायतले पनि गीतकार डा. पोखरेललाई शुभकामना दिए । गायक शिव परियारले आफूद्धार स्वरवद्ध परेली गीति गायनको चर्चा गरे भने संगीतकार दीपक शर्माले सँग्रहका गीतहरुमा संगीत सृजना बारे प्रकाश पारे ।