अन्तर्राष्ट्रिय पत्रकार महासंघले गर्यो १९ बुँदे निर्णय


ब्युटी न्युज नेपाल
केन्टकी (अमेरिका),  ३० नोभेम्बर

सँयुक्त राज्य अमेरिकामा प्रधान कार्यालय भएको अन्तर्राष्ट्रिय पत्रकार महासंघले आफ्नो गतिविधिहरु बढाएको छ । यसै क्रममा महासंघको अमेरिकाको केन्द्रीय कार्यसमिति बैठक अध्यक्ष रामप्रसाद खनालको अध्यक्षता र महासचिव टंक दाहालको सञ्चालनमा अनलाइनमार्फत सम्पन्न भएको छ । बैठकमा विभिन्न एजेन्डामा व्यापक छलफल भयो । छलफलपछि बैठकले १९ बुँदे महत्वपूर्ण निर्णयहरू सर्वसम्मतरूपमा पारित गरेको छ ।

बैठकले महासंघको सदस्यता शुल्क एकीकृत गर्ने निर्णय गर्दै नेपालबाहिरका पत्रकारहरूका लागि १०० अमेरिकी डलर र नेपालका लागि पाँच हजार रुपैयाँ निर्धारण गरेको छ । पत्रकारिताको मूल्य, मान्यता र मर्यादा जोगाउन सबै मिडियाकर्मीलाई आग्रह गर्दै बैठकले नेपालभित्र–बाहिर पत्रकारहरूमाथि भइरहेका अफवाह, मानसिक दबाब तथा दुव्र्यवहारप्रति चिन्ता व्यक्त गरेको छ ।

यसअघि गठन भएका नेपाल, जापान, पोल्याण्ड र साउदी अरेबियाका शाखालाई बैठकले औपचारिक स्वीकृति प्रदान गरेको छ । महासंघको अन्तर्राष्ट्रिय विस्तारलाई प्रभावकारी बनाउन सल्लाहकार र पदाधिकारीहरूलाई सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरिएको छ ।

नेपालबाहिर रहेका पत्रकारहरूको नामावली संकलनका लागि सतीश चापागाईं, कृष्णराज खनाल र दिनेश कार्की रहेको उपसमिति गठन गरिएको छ भने दीर्घकालीन सञ्चालनका लागि आर्थिक स्रोत व्यवस्थापनसम्बन्धी सम्भाव्यता अध्ययन गर्न टंक दाहाल, अर्जुन दाहाल र अनिल अधिकृत रहेको अर्को उपसमिति बनाएर जिम्मेवारी दिइएको छ ।

महासंघले नेपाल शाखाको आयोजनामा विशेष कार्यक्रम तथा कार्यशाला गर्ने र उक्त कार्यशालाका लागि कार्यपत्र तयार गर्न प्रा.पुरुषोत्तम दाहाल र डा.बालकृष्ण चापागाईंलाई जिम्मेवारी दिएको छ । नेपाल शाखाको संस्थागत विकास र विस्तारमा जीवराम भण्डारी, टंक पन्त, अखण्ड भण्डारी र केदार कोइरालालाई विशेष भूमिका दिने निर्णय पनि बैठकले गरेको छ ।

यस्तै, अमेरिकाभित्र पत्रकार भेलाको सम्भाव्यता अध्ययन गर्न विजय घिमिरे, कृष्णराज खनाल, सुमन दाहाल र विश्वराज थापालाई विस्तृत योजना तयार पार्न भनिएको छ । विश्वका विभिन्न देशमा रहेका शाखाहरूले केन्द्रको अनुमति लिएर आफ्नै कोष स्थापना गर्न सकिने निर्णय पनि बैठकले गरेको छ ।

यस्तै अमेरिका, बेलायत, चीन, युरोप, अष्ट्रेलिया, क्यानडा, नेपाल तथा इजरायल, गाजा, अफगानिस्तान, पाकिस्तान र सिरियालगायत संवेदनशील क्षेत्रमा पत्रकारमाथि भएका आक्रमणप्रति बैठकले गहिरो चिन्ता व्यक्त गर्दै सम्बन्धित सरकारलाई पत्रकार सुरक्षा सुनिश्चित गर्न अपिल गरेको छ ।

क्यानडामा शाखा स्थापना गर्न अनिल थापा र अष्ट्रेलियामा शाखा विस्तार गर्न सुरेन्द्र सापकोटालाई जिम्मेवारी दिइएको छ । विभिन्न देशका पत्रकारिता संस्थाहरूलाई महासंघसँग संस्थागत रूपमा आबद्ध गर्ने सम्भाव्यता अध्ययन युवराज विद्रोहीलाई दिने निर्णय गरिएको छ । महासंघको वेभसाइट निर्माण र अपडेटमा निरन्तर सहयोग गर्दै आएका इ.कुमार श्रेष्ठप्रति बैठकले आभार प्रकट गरेको छ । महिला पत्रकारहरूको सहभागिता र प्रभावकारिता वृद्धि अध्ययन गर्न कृष्णा पौडेल, नवराज कुँवर र कमला विश्वकर्मालाई जिम्मा दिइएको छ ।

नेपाली पत्रकारहरूको क्षमता अभिवृद्धिका लागि अमेरिकास्थित संस्थाहरूसँग समन्वय र अनुभव आदानप्रदान गर्ने तथा वासिंटन डिसीमा नेपाली पत्रकार र संघ–संस्थाको सहभागितामा विशेष कार्यक्रम गर्न पुरु घिमिरेलाई संयोजन जिम्मा दिइएको छ । बैठकले प्रत्येक महिना नियमित रूपमा बैठक बस्ने र पारित सबै निर्णय कार्यान्वयनका लागि अध्यक्ष र महासचिवलाई आवश्यक परामर्श तथा समन्वयमा अघि बढ्न अधिकार प्रदान गरिएको घोषणा गरेको छ ।