ब्युटी न्युज नेपाल
काठमाडौँ, २४ मंसिर
प्रदीप शाही निर्देशित नेपाली चलचित्र ‘एक्लो’ले अन्तराष्ट्रिय बजारमा आफ्नो पहुँच बलियो बनाउँदै गएको छ । गत कन्स अन्तराष्ट्रिय चलचित्र महोत्सवमा ‘सो केस’ राखेर यो चलचित्रको बारेमा चर्चा चलाईएको थियो । कान्समै यो चलचित्रको अन्तर्राष्ट्रिय वितरणको लागि स्टल समेत राखिएको थियो ।
यस्तै अन्तराष्ट्रिय बजार र वितरणलाई नै प्रदर्शन गर्ने उदेश्य सहित चलचित्र ‘एक्लो’को सँयुक्त राज्य अमेरिका स्थित न्युयोर्कको विश्वप्रसिद्ध : ‘म्युजियम अफ द मूभिङ इमेज’ थिएटरमा भव्य प्रिमियर गरिने भएको छ । यो थिएटरमा नोलन, स्कोर्सेजी, मार्वेल, डिक्याप्रियो, ब्राड पिटजस्ता स्टारका चलचित्रहरु मात्र प्रदर्शन हुने गरेको छ ।
‘एक्लो’लाई सो थिएटर नयाँ वर्ष २०२६ को पर्व सन्ध्याको अवसर पारेर आगामी डिसेम्बर २८ मा प्रिमियर गरिने यसका कार्यकारी निर्माता क्षितिज सुवेदीले जानकारी गराएका छन् उनका अनुसार नेपाली फिल्म क्षेत्रका लागि यो एक ऐतिहासिक उपलब्धि हुनेछ ।
यो संग्रहालय अमेरिकाको चलचित्र इतिहासमा चलचित्र, टेलिभिजन, भिडियो गेम, डिजिटल मिडिया तथा मुभिङ–इमेज प्रविधिको इतिहास, विकास र कलालाई समर्पित—विश्वकै अग्रणी मिडिया संग्रहालयका रूपमा परिचित छ । त्यहाँ नेपाली चलचित्रको प्रिमियर गनुर्् सम्पूर्ण नेपालीको गौरवको कुरा भएको यसका निर्देशक प्रदीप शाहीले बताएका छन् । हलिउडका विशिष्ट फिल्महरू र विश्वप्रसिद्ध कलाकारहरूको चलचित्र मात्र प्रिमियर हुँदै गर्दा लामो प्रयास पछि सो थिएटरमा नेपाली चलचित्र ‘एक्लो’ले प्रिमियरको अवसर पाएको र प्रिमियर ऐतिहासिक बन्ने पनि निर्देशक शाहीले बताएका छन् ।
यो चलचित्र नेपालमा भने १७ पुसबाट रिलिज हुँदैछ । चलचित्र ‘एक्लो’मा प्रदीप खड्का, बेनिशा हमाल, विजय लामा, कविता नेपाली, सुनिल थापा, जेमी बेकन, दिनेश डिसी, यवन राज उप्रेतीलगायतको शीर्ष भूमिका रहेको छ ।




