‘पूर्ण बहादुरको सारङ्गी’ र ‘परान’ जस्तै ‘मिरमिरे’ हिट हुने दाबी


ब्युटी न्युज नेपाल
काठमाडौं, २४ मंसिर

आगामी माघे सक्रान्तीमा एकसाथ तीन वटा नेपाली चलचित्र रिलिज हुँदैछन् । तीन चलचित्र एक आपसमा जुध्दा पक्कै पनि व्यापारमा ठुलो असर पर्ने छ । किनकी माघे सक्रान्ती एक दिनको मात्र चाड हो । तर पनि यही मितिमा नयाँ चलचित्र मिरमिरे पनि रिलिज हुँदैछ । यो चलचित्र गत वर्ष बाउ र छोराबीचको इमोस्नल सम्बन्ध रहेको सिनेमा ‘पूर्ण बहादुरको सारङ्गी’ र यो वर्षको व्यवसायिक सफल चलचित्र ‘परान’ जस्तै हिट हुने दाबी यसका निर्देशकले गरेका छन् ।

यी सफल दुई चलचित्र जस्तै सम्वेदनशिल कला लिएर चलचित्र ‘मिरमिरे’ माघ १ मा आउन लागेको यसको निर्माण पक्षले जनाएको छ । छोरीका लागि बाउले गरेको संघर्ष यो सिनेमामा छ । आमाले घर छोडेपछि छोरी र बाउ मात्रै घरमा हुन्छन् । सानी छोरी, जो आफैँ केही गर्न सक्दिनन् । त्यसैले उनका लागि सबै बुवाले नै गर्नुपर्छ ।

छोरीको स्याहार, घरको काम, छोरीको स्कुल र आफ्नो जागिर कसरी एक्लै बाउले गर्छ ? यही क्रममा बाउले छोरीप्रति निभाएको कर्तव्य ‘मिरमिरे’मा छ । छोरीले आफ्नो बुवालाई गर्ने माया र छोरीका लागि बुवाले गर्ने त्यागको कथा लिएर आउँदा दर्शकले मन पराउनेमा ‘मिरममिरे’को निर्माण टिम ढुक्क छ ।

‘हरेक बुवाआमालाई आफ्ना सन्तानको अथाहा माया हुन्छ । त्यो माया कति देखाउने भन्ने मात्रै हो,’ मिरमिरेका निर्देशक यम शेर्पाले आफ्नो चलचित्रबारे भने, ‘बुवाले छोरीलाई गर्ने माया र उसका लागि गरेको त्याग हाम्रो चलचित्रले देखाउँदैछ ।’

हरेक घरघरको कथा भएकाले ‘मिरमिरे’लाई दर्शकले मन पराउने र अधिकांशले आफूमा रिलेट गर्ने उनी बताउँछन् । यार्सा फिल्म्सको प्रस्तुति रहेको चलचित्रमा दयाहाङ राई, प्रकाश सपूत, सिर्जना निङलेखु, माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा, शाइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठ र नमनराज गजुरेल छन् ।

निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा निर्माता रहेको ‘मिरमिरे’का सह–निर्मातामा गोविन्द बोहरा, सुदिप कुँवर छन् । यो चलचित्रको कार्यकारी निर्मातामा आरआर फिल्मसका सञ्चालक समेत रहेका चलचित्र वितरक रोहित कट्टेल रहेका छन् ।