‘नृत्य नेपाली पारा’को दोस्रो संस्करण घोषणा


ब्युटी न्युज नेपाल
काठमाडौँ, २२ मंसिर

नृत्यका पारखीहरुको लागि आफ्नो कला प्रस्तुत गर्दै नगद पुरस्कार ट्रफी समेत जित्नको लागि सुनौलो अवसर स्वरुप ‘नृत्य नेपाली पारा’को दोस्रो संस्करणको आयोजना हुने भएको छ । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन कार्यक्रम गर्दै यो प्रतियोगिताको औपचारिक घोषणा गरिएको हो ।

आयोजक संस्था नेपाल लोक नृत्य सेन्टरका अध्यक्ष केशव कोइरालाले प्रतियोगिताको विस्तृत जानकारी प्रस्तुत गर्नुभएको थियो । कोइरालाका अनुसार प्रतियोगिता दुई तहमा सञ्चालन हुनेछ । जुनियर समूहमा कक्षा २ देखि ५ सम्मका विद्यार्थी र सिनियरमा समूहमा कक्षा ६ देखि १० सम्मका विद्यार्थीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितालाई नृत्य नेपाल संघले सहकार्य गरेको छ ।

प्रतियोगिताको वर्कसप दस्तुर तीन हजार ५०० रुपैयाँ तोकिएको छ । आवेदन फारम दर्ता शुल्क ५०० रुपैयाँ रहनेछ । वर्कसपपछि सहभागीको फोटोशुट पनि गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा सहभागी विद्यार्थीले आवश्यक सामग्री स्वयं व्यवस्था गर्नुपर्नेछ । उनीहरूले नेपाली गीतमा मात्र प्रस्तुति दिन पाउनेछन् । प्रतियोगिताका विजेतालाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ । प्रथम पुरस्कारमा २० हजार रुपैयाँ, दोस्रोमा १० हजार, तेस्रोमा सात हजार, चौथोमा पाँच हजार र पाँचौं पुरस्कारस्वरूप पाँच हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

यसको साथै उत्कृष्ट हाउभाउ, भेषभूषा, मौलिकता, दर्शकको रोजाइ र उत्कृष्ट प्रस्तुति गरी पाँच विशेष विधामा पनि ट्रफी, मेडल र प्रमाणपत्रसहित सम्मान गरिने जनाइएको छ । आयोजकले ‘नृत्य नेपाली पारा’लाई बालबालिकाको प्रतिभा अभिव्यक्तिको मञ्चका रूपमा प्रभावकारी रूपमा अघि ल्याइने विश्वास व्यक्त गरेका छन् ।

नृत्य निर्देशक संघ नेपालका केन्द्रीय अध्यक्ष तथा वरिष्ठ नृत्य निर्देशक भुवनदास श्रेष्ठको प्रमुख आतिथ्यता र एभरेट नेपाल कल्चर ग्रुपका अध्यक्ष आरसी कोइरालाको विशेष आतिथ्यतामा पत्रकार भेटघाट कार्यक्रम भएको थियो ।
प्रतियोगिताको मुख्य निर्णयकमा शम्भु शाही छन भने अन्य निर्णयकमा कृष्ण रसाल, अनिता गोले तामाङ, रमेश बुढाथोकी रहेका छन् । अडिसन राउण्डबाट छनोट भएका दुईवटै क्याटेगोरीका विद्यार्थीलाई नृत्य कार्यशाला (वर्कसप) गराइनेछ । जसको प्रशिक्षकमा दक्षिणा लामा दावा, सरोज श्रेष्ठ र अभि वाग्ले हुने छन् ।

कार्यक्रममा निर्देशक  कृष्ण रसाल, रमेश बुढाथोकी, शम्भु शाही, सुनिल गिरी, अजय विष्ट, सरोज श्रेष्ठ, रिषिकेश श्रेष्ठ, रमेश पाठक, शिला गजुरेललगायतले प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गरेका थिए ।