ब्युटी न्युज नेपाल
काठमाडौँ, १७ मंसिर
लोकन्ती जस्तो मौलिक संस्कृतिलाई कथामा बुनेर तयार गरिएको चलचित्र ‘लोकन्ती’ यही २६ मंसिरबाट चलचित्र घरमा रिलिज हुने भएको छ । यो चलचित्र कृशन फिल्म्सको ब्यानरमा निर्माण भएको हो ।
यसैबिच चलचित्र ‘लोकन्ती’ को ट्रेलर बुधबार काठमाडौँमा एक समारोहबिच सार्वजनिक गरिएको छ । सार्वजनिक २ मिनेट ३० सेकेन्ड लामो ट्रेलरमा कमेडी र पारिवारिक कथालाइ उठाउन खोजिएको छ। ट्रेलर रिलिज कार्यक्रममा चलचित्रका सम्पूर्ण टिमको उपस्थिति रहेको थियो। ट्रेलरमा चलचित्रका सम्पूर्ण प्रमुख कलाकारलाई अटाइएको छ ।
‘लोकन्ती’ चलचित्रलाई निर्देशन रञ्जित रानाले गरेका हुन् । कथालाई पूर्ण पारिवारिक ड्रामाको रूपमा पेश गरेका छन्। चलचित्रमा अभिनेता यसराज गराच मुख्य भूमिकामा देखिँदैछन्। उनी पाँच वर्षपछि चलचित्रमा मुख्य भूमिकामा फर्किएका हुन् । आफू आधा दशकपछि चलचित्र ‘लोकन्ती’ मार्फत दर्शक माझ आउन लागेको अभिनेता यसराजले ट्रेलर रिलिपाज समारोहमा बताए ।
यो चलचित्र राम्रो बनेको र चलचित्र दर्शकले मन पराउनेमा आशावादी रहेको उनको भनाई थियो । यसराजसँगै अभिनेत्री तथा मोडल ऋचा थापाको अनस्क्रिन केमिस्ट्री रहेको छ । यो चलचित्रमा विमला लिम्बु, कुमार न्यौपाने, विकाश अधिकारी, दमन रुपाखेती, गोविन्द प्रभातलगायत कलाकारहरूको पनि मुख्य भूमिका रहेको छ ।
यसै चलचित्रमार्फत कुमार न्यौपाने र विकाश अधिकारीले अभिनय यात्राको सुरुवात गरिरहेका छन्। लोकन्तीमा संगीत निर्देशनमा विकास चौधरी, छायांकनमा रोनिश तामाङ च्याङ्बा,शृंगार अशोक रोक्काको रहेको छ भने सम्पादन गौतम राज खड्काले गरेका हुन् । ट्रेलर सम्पादन सन्दीप डाँगीले गरेका हुन् ।
नेपाली संस्कृतिमा आधारित भावनात्मक तथा सामाजिक कथानक बोकेको ‘लोकन्ती’ ले दर्शकलाई नयाँ स्वाद दिने अपेक्षा गरिएको छ । चलचित्रका निर्माता सन्तोष न्यौपाने हुन् । यसको कथा काजी लिम्बुले लेखेका हुन् ।




