बिगुलको फस्ट लुक्स सार्वजनिक


ब्युटी न्युज नेपाल
काठमाडौँ, १५ मंसिर

नेपाली ‘बिगुल’ आगामी ९ माघबाट नेपालमा रिलिज हुने भएको छ । निर्माण टिमले फस्र्टलुकका रूपमा तीन पोस्टर सार्वजनिक गर्दै सोमबार चलचित्रको रिलिज मिति घोषणा गरेको हो । सार्वजनिक पोस्टरमध्ये एकमा अभिनेत्री बेनिशा हमाल गम्भीर मुद्रामा देखिन्छिन्, जसको पृष्ठभूमिमा राँको लिएका प्रदर्शनकारीहरूको भीड छ। दोस्रो पोस्टरमा बेनिशासँगै नरेन खड्का र रमेश बुढाथोकी आक्रोशित भावमा देखिन्छन्, भने तेस्रो पोस्टरमा सबै प्रमुख कलाकार समेटिएका छन् ।

गत जेठबाट छायांकन थालिएको ‘बिगुल’ जेनजी पुस्ताले उठाएको आन्दोलन र देश विकासप्रतिको चाहनालाई कथाको मूल केन्द्रमा राखेर निर्माण गरिएको हो। निर्माण पक्षका अनुसार फिल्मको विषयवस्तु तयार भएको केही महिनामै वास्तविक जेनजी आन्दोलन सुरु हुनु रोचक संयोग बनेको छ ।

रमेश कोइरालाको निर्देशन तथा कल्पना पौडेलको प्रस्तुतीमा बनेको यस फिल्ममा दिनेश कोइरालाले कथा तथा निर्माण जिम्मेवारी सम्हालेका छन् । कथाकार तथा निर्माता दिनेश कोइराला भन्छन्, ‘फिल्ममा उठाइएको मूल मुद्दा र पछि युवा पुस्ताले उठाएका मागहरू विचित्र रूपमा मिलेकाले हामीले यो फिल्म जेनजी आन्दोलनलाई समर्पित गरेका छौँ। भ्रष्टाचार र विकृति उन्मूलन गर्दै परिवर्तनको बिगुल फुक्ने सन्देशसहित मनोरञ्जन पनि समाहित गरेका छौँ।’ उनले विश्वभर रहेका नेपालीलाई ‘बिगुल’ हेर्न आग्रह गरेका छन् ।

म्याग्नोलिया ग्रुपको ब्यानरमा निर्माण भएको फिल्ममा बेनिशा हमालसँगै नरेन खड्का, रमेश बुढाथोकी, नीर शाह, सरोज खनाल, हेमन्त बुढाथोकी, शिशिर वाङ्देल, विनोद न्यौपाने, जेएन घिमिरे, गीता अधिकारी, मीरा पण्डित र मानश्री शर्मालगायत कलाकारको अभिनय समावेश छ ।

फिल्ममा प्रदीप भारद्वाज र मौनता श्रेष्ठको पटकथा तथा संवाद, शिव ढकालको छायांकन, कमल राई–कविराज गहतराजको नृत्य निर्देशन, एनबी महर्जनको द्वन्द्व निर्देशन, विश्वप्रकाश शर्मा, अर्जुन पोखरेल र मनोज चौलागाईंको संगीत र तारा थापा ‘किम्भे’ को सम्पादन रहेको छ। सहनिर्मातामा सूर्यकान्त कोइराला र महेश कोइराला छन्। काठमाडौं उपत्यकाभित्र काफिया फिल्म्सले वितरण गर्ने फिल्मको मोफसल वितरण श्री ब्याङ्केट्स इन्टरटेन्मेन्टले गरेको छ ।