‘डल्लेले इन्ट्री मार्यो’ पनि २७ चैतमा आउने


ब्युटी न्युज नेपाल
काठमाडौँ, १५ मंसिर

निर्देशक राजु गिरीको चलचित्र ‘डल्लेले इन्ट्री मार्यो’ आगामी नयाँ वर्षको अवसरमा २७ चैतमा रिलिज हुने भएको छ । निर्देशक राजुले यो नयाँ चलचित्रको नयाँ वर्ष २०८३ सालको लागि लक्षित गरेर रिलिज घोषणा गरेका छन् । यस अघि नै २७ चैतमा बिराज भट्टको चलचित्र ‘राम नाम सत्य’, विपिन कार्कीको चलचित्र ‘काजी’ दयाहाङ राईको चलचित्र ‘मितज्यू’को पनि रिलिज घोषणा गरिएको थियो । यो सँगै अब नयाँ वर्षमा चार वटा नेपाली चलचित्र रिलिज हुने देखिएको छ ।

रिलिज घोषणासँगै ‘डल्लेले इन्ट्री मार्यो’ को फस्र्ट लुक्स सार्वजनिक भएको छ। निर्माण टिमले सोमबार फिल्मको पहिलो पोस्टर सार्वजनिक गरेको हो । पोस्टरमा मुख्य अभिनेता सागर लम्साल (बले) को लुक्स देख्न सकिन्छ। उनी हातको औँलाले सिगरेट तानेर झुम्म परेका दृश्यमा देखिएका छन्। कतै–कतै सिगरेट तान्दा उनी निदाएका जस्तो देखिनु उनको क्यारेक्टरको विशेषता झल्काउँछ ।
फिल्मको अधिकांश छायांकन कास्कीको याङ्जाकोटमा भएको हो भने करिब १० प्रतिशत दृश्य काठमाडौंको गागलफेदी आसपास खिचिएको छ । फिल्म राजु गिरी को निर्देशनमा तयार भएको हो। पटकथा र संवाद लक्ष्मण सुवेदी ले लेखेका छन्। उनले यसअघि आधा दर्जनभन्दा बढी फिल्म लेखन र निर्देशन गरिसकेका छन्।

फिल्ममा सागर लम्साल (बले) का अलवा रोशनी खड्का, रमेश बुढाथोकी, हेमन्त बुढाथोकी, रबिन्द्र झा, कैलास रावत, बिशाल पहाडी, ध्रुव कोइराला, साबित्रा चिलुवाल, आशा पौडेल, लक्ष्मीनाथ तिमिल्सिना, ओसिन भट्टराई, मोहनकृष्ण श्रेष्ठ, सुचेन्द्र परियार, रामहरि खड्का, रमेश अधिकारी, माधबा खनाल, सुस्मा के सी , नबराज गिरि लगायत कलाकारको अभिनय छ। निर्देशक राजु गिरी स्वयं ले पनि अभिनय गरेका छन्। बालकलाकारमा कंगना गिरी,रोनिश खड्का र काजल गिरी रहेका छन्।

चलचित्रमा छायांकन श्याम तामाङ, निर्माण व्यवस्थापन सुमन काफ्ले, कथा उमेश कुमार बस्नेत, र निर्माता सावित्री चिलुवाल, आशिक बस्नेत, आदर्श बस्नेत, निर्मला बस्नेत, सरिता पुरी गिरीको रहेको छ ।  फिल्म उषा फिल्म्स प्रालि को ब्यानरमा निर्माण भएको हो भने वितरण नेसनल सिने ग्रुपले गर्नेछ ।