‘स्मार्ट जुम्बा एन्ड डान्स स्टुडियो’को प्रथम वार्षिक उत्सव सम्पन्न


ब्युटी न्युज नेपाल
काठमाडौँ, १३ मंसिर

किर्तीपुरको मच्छेगाउँमा रहेको ‘स्मार्ट जुम्बा एन्ड डान्स स्टुडियो’ले आफ्नो स्थापनाको प्रथम वार्षिक उत्सव शनिबार बिहान विविध कार्यक्रमबिच मनाएको छ ।

‘स्मार्ट जुम्बा एन्ड डान्स स्टुडियो’की संस्थापक सरिता पोखरेलको सभापतित्वमा सम्पन्न सो वार्षिक उत्सव समारोहको प्रमुख अतिथिमा चन्द्रागिरी नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष अच्युत अधिकारी, विशेष अतिथि चन्द्रागिरी कलाकार संघका अध्यक्ष अञ्चन मगर, अतिथिमा कोरियन भाषा प्रशिक्षक रामचन्द्र लामिछानेलगायत थिए ।

कार्यक्रममा ‘स्मार्ट जुम्बा एन्ड डान्स स्टुडियो’की सञ्चालक समिति सदस्य मन्जु थापाले सो स्टुडियो स्थापनाको उदेश्यबारे प्रकाश पार्दै कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गरेकी थिईन् । सोही क्रममा विभिन्न वालवालिकाहरुले स्वागत नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा सेजल शर्माले तामाङ सेलो गीतमा नृत्य प्रस्तुत गरेर कार्यक्रमको रौनक बढाईन् । यस्तै कलाकार निराजन बिष्टले गायन प्रस्तुतिबाट वार्षिक उत्सवलाई मनोरम तुल्याए ।

कार्यक्रमका विशेष अतिथि तथा अतिथिहरुले सो डान्स स्टुडियोको वार्षिक उत्सवको केक काटेर सञ्चालक टिमलाई बधाई दिएका थिए ।

कार्यक्रममा जनचाहना सुपथ मूल्य सहकारी संस्थाका संस्थापक निर्देशक दिपक बिडारी, न्यु होराईजन बोर्डिङ स्कुलका प्रिन्सिपल बुद्ध महर्जन तथा भ्याली इन्स्टिच्युटका कोरियन भाषा प्रशिक्षक रामचन्द्र लामिछानेले प्रथम वार्षिक उत्सवको अवसरमा शुभकामना दिँदै ‘स्मार्ट जुम्बा एन्ड डान्स स्टुडियो’को स्थापनाले सो क्षेत्रमा बासिन्दाहरुमा नृत्य प्रशिक्षणसँगै जुम्बा सेवामा ठुलो सहयोग पुगे्को बताए ।

कार्यक्रमका प्रमुख अतिथि चन्द्रागिरी नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष अच्युत अधिकारीले नृत्य जुम्बा जस्ता व्यायामले दीर्घ जीवन जीउन सघाउने बताउँदै यसले शारीरिक सँगै मानसिक स्वास्थ्यमा पनि साथ दिने भनाई राखे । उनले ‘स्मार्ट जुम्बा एन्ड डान्स स्टुडियो’को सफलताको शुभकामना समेत व्यक्त गरे ।

‘स्मार्ट जुम्बा एन्ड डान्स स्टुडियो’का सञ्चक बरिष्ठ नृत्य निर्देशक एवम् जुम्बा प्रशिक्षक बिनोद थापाले सो स्टुडियोले एक वर्ष भित्र गरेको विभिन्न प्रगतिको बारेमा प्रकाश पारे । आफूहरुले यो एक वर्षमा विहान देखि बेलुका सम्म नृत्य सिकाएर किर्तीपुर मच्छे गाउँ क्षेत्रमा धेरै कलाकारहरु जन्माएको पनि उनले बताए । बालबालिका देखि अग्रज सम्मलाई स्टुडियोमा बिहान, दिउँसो, बेलुकासम्म जुम्बा तथा विभिन्न नृत्य प्रशिक्षण दिने गरेको पनि नृत्य निर्देशक विनोदले जानकारी गराए ।

सो स्टुडियोमा नृत्य एवम् जुम्वा सिक्ने बालिबालिका तथा अग्रजलाई बार्षिक उत्सवको अवसर पारेर विभिन्न शीर्षकमा प्रोत्सान पुरस्कार समेत प्रदान गरियो ।