ब्युटी न्युज नेपाल
काठमाडौँ, १० मंसिर
नेपाली चलचित्र ‘अभिमन्यु : च्याप्टर १’ हिन्दीमा पनि स्वरांकन गरिएको छ । यो चलचित्रको हिन्दी भर्सन ओटिटी र हलमा रिलिज गरिने भएको छ । हिन्दी भर्सनको टिजर आज रिलिज भएको छ । निर्माणपक्षले हिन्दी भर्सन हेर्ने दर्शकलाई लक्षित गर्दै हिन्दी भर्सनको टिजर सार्वजनिक गरेको हो ।
यो चलचित्र नेपाली र हिन्दी दुवै भाषामा नेपाल, भारत र विश्वव्यापी रूपमा एकसाथ प्रदर्शनमा आउँदैछ । त्यसैले भारतसहित ओभरसिज मार्केटलाई लक्षित गर्दै निर्माणपक्षले हिन्दी भर्सनको टिजर सार्वजनिक गरेको हो । टिजरमा चलचित्रका अधिकांश मुख्य कलाकारलाई देख्न सकिन्छ । टिजरमा प्रेम, सस्पेन्स, पैसाको प्रलोभन, अपहरण, सेयर बाँडफाँट, प्रहरीको कस्टडीमा पुगेको आरोपी र उसको बयान सिनेमामा देख्न सकिन्छ ।
सेभेन सिज सिनेमाको प्रस्तुति निर्माण भएको ‘अभिमन्यु ः च्याप्टर १’मा कामेश्वर चौरसिया, सरिता गिरी, किरण श्रेष्ठ, लक्ष्मी बर्देवा, गौमाया गुरुङ, प्रकाश दाहाल, शिशिर वाङ्देल मुख्य भूमिकामा छन् ।
सुशान्त गौतमले निर्देशन गरेको ‘अभिमन्यु’को क्रिएटिभ निर्देशक मदन थापा हुन् । यस चलचित्रमा मुकेश खनालको लेखन रहेको छ । ‘अभिमन्यु ः च्याप्टर १’ का निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन् । रमेश चौलागाईं र हरि श्रेष्ठ सह–निर्माता रहेको चलचित्रका कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ रहेका छन् । सिनेमाको लाइन प्रोड्युसरमा जीवन शाक्य रहेको छन् । शरद महतोको डिओपी रहेको यस चलचित्रमा मनोज श्रेष्ठको भिएफएक्स, जुनिम गहतराजको रंग संयोजन, मदन घिमिरेको सम्पादक रहेका छ ।




