युटी न्युज नेपाल
काठमाडौँ, ७ मंसिर
यति बेला नेपालमा पाँचौ हप्तामा प्रदर्शन भईरहेको अनमोल केसीको चलचित्र ‘जेरी अन टप’ले शनिबार ७ मंसिर रातीसम्म नेपालमा १९ करोड १९ लाख ७४ हजार रुपैयाँको व्यापार गरिसकेको छ । यो चलचित्र अहिले अन्य विभिन्न देशमा पनि प्रदर्शन भईरहेको छ ।
यसै बिच ’जेरी अन टप’को मलेसिया प्रदर्शन तय भएको छ । गैरआवासिय नेपाली संघ एसिया प्यासिफिक संयोजक रहेका मलेसिया वेस्ड व्यवसायी हरि भट्टराईले सम्बन्धित देशको लागि यो फिल्मको प्रदर्शन अधिकार खरिद गरेका हुन् । डिसेम्बर पहिलो साताबाट मलेसियामा ’जेरी अन टप’ वक्स अफिस रिलिज गर्ने भट्टराईले बताए । ’मुख्य शहरमा वक्स अफिस रिलिज गर्ने र नेपालीहरूको बाहुल्यता रहेका अन्य ठाउँमा जुन माध्यमबाट सहज हुन्छ त्यहि विकल्पमा फिल्म प्रदर्शन गर्ने तयारीमा छौं, भट्टराइले भने ।
अनन्या फिल्मस् को ब्यानरमा सरोज न्यौपानेको प्रस्तुतिसहित निर्माण भएको फिल्ममा सुयोग गुरुङको निर्देशन छ । फिल्ममा अनमोलको साथमा आँचल शर्मा, जसिता गुरुङ, भुवन केसी, केदार घिमिरे, उषा खड्गी, सुरक्षा पन्त लगायत अभिनयमा छन् ।
नेपालसँगै अष्ट्रेलिया, अमेरिकामा एकसाथ वक्सअफिस रिलिज भएको यो फिल्म यूरोप, मध्यपूर्व लगायतका विभिन्न देशहरूमा प्रदर्शनमा छ भने यूके, कोरिया र थाइल्यान्डमा पनि प्रदर्शनको क्रममा छ । स्टार अभिनेता अनमोल केसीको करियरकै सर्वाधिक विजनेस गर्न सफल यो फिल्म अन्तर्राष्ट्रिय बजारमा पनि उच्च मागका साथ प्रदर्शन भइरहेको छ ।




