युटी न्युज नेपाल
काठमाडौँ, ७ मंसिर
अस्ट्रेलियामा बहुसंख्यक दृष्य छायांकन भएको नेपाली चलचित्र ‘पीआर’को नयाँ गीत ‘तिमी छौ र त’ को भिडियो सार्वजनिक भएको छ । निर्माण टिमले फिल्मका अभिनेता आर ए सुरज पौडेलको जन्मदिनको अवसर पारेर यो गीतको भिडियो रिलिज गरेको हो । यो चलचित्र नेपालमा यही २६ मंसिरबाट रिलिज हुँदैछ ।
शोभित बस्नेतको निर्देशनमा निर्माण भएको फिल्मको शनिबार अस्ट्रेलियाको ग्रान्ड प्यालेस फङ्सन सेन्टर अबर्नमा एक कार्यक्रमकाबीच गीतको भिडियो रिलिज गरियो । यो गीतको भिडियो सलोमा युटुब च्यानलमार्फत रिलिज गरिएको हो। जहाँ अभिनेता आर ए सुरज पौडेल र अभिनेत्री बिनिता कार्कीको रमाइलो नृत्य रहेको छ ।
मानस राजको संगीत, सनुप पौडेल र नीतु पुनको स्वरमा रहेको यो गीतको भिडियोको कोरियोग्राफी रामजी लामिछानेको छ। सलोमा युटुब च्यानलमा हेर्न सकिने छ ।
गीतको भिडियो रिलिज गर्दै निर्देशक बस्नेतले भने,‘पीआरमा दर्शकले रोमान्स, एक्सन र सामाजिक सन्देशको मिश्रण पाउनेछन्। यो नेपालका युवाको सपना र संघर्षको कथा हो, जसले फरक स्वाद प्रदान गर्नेछ भन्नेमा विश्वास लिएको छु।’
सलोन सलिना फिल्म्सको ब्यानरमा बनेको यस फिल्ममा आर.ए.सुरज पौडेल, विनिता कार्की, राजन कुँवर, पूजा चौधरी,आश्मा अधिकारी मस्तानी, विमला खत्री, गणेश बुढाथोकी, म्याक्स कृष्ण थापा र नवीन घायल प्रमुख भूमिकामा छन्। विशेष भूमिकामा नीर शाह, गौरी मल्ल, रविन्द्र खड्का,उत्तम के.सी.नेपाल, र दिक्पाल कार्कीको पनि अभिनय छ ।
फिल्मको प्रमोसन र त्यहाँको हलमा फिल्म रिलिजका लागि केहि दिनअघि निर्देशक बस्नेत अष्ट्रेलियामा उडेका थिए। उनी यतिबेला अष्ट्रेलियामा नै फिल्मको प्रमोसनमा लागिरहेका छन् । सौरभ सायमी र सौरभ लामाले फिल्मको छायांकन गरेका छन् भने वितरण आर आर फिल्म्सले गर्दैछ।
उनका अनुसार फिल्म ‘पीआर’ प्रेम, संघर्ष र आप्रवासनसँग जोडिएको भावनात्मक कथामा आधारित छ। यस फिल्मको प्रस्तुति रञ्जित साह र सन्तोष तिवारीको छ भने लक्ष्मण सापकोटा र प्रदीप दाहालले लगानी गरेका छन्। बन्दे प्रसादको सम्पादन रहेको छ भने गणेश बुढाथोकीको लेखन रहेको छ।




