कोलोराडोमा ८औँ एटिए एभरेस्ट ग्लोबल नेपाली फिल्म अवार्ड भव्य रुपमा सम्पन्न


प्रदीप र केकी उत्कृष्ट अभिनेता अभिनेत्री

सुमन दाहाल/ब्युटी न्युज नेपाल
बोल्डर (कोलोराडो) अमेरिका, २३ नोभेम्बर

८औँ संस्करणको एटिए एभरेस्ट ग्लोबल नेपाली फिल्म अवार्ड २०२५ अमेरिकाको कोलोराडोस्थित बोल्डर सहरमा सम्पन्न भएको छ । अवार्ड समारोह बोल्डर थिएटरमा सम्पन्न भएको हो । अवार्ड समारोहलाई मुख्य अतिथि बोल्डर सिटीका मेयर आरोन ब्रकेट तथा विशेष अतिथि बोल्डर काउन्टी कमिस्नर मार्थ लोयचमिनलगायतका अतिथीहरूले पानसमा बत्ती बालेर उद्घाटन गरेका थिए।  नेपाल फिल्म सोसाइटी नेपाल, ग्लोबल नेपाली फिल्म अवार्ड यूएसए, हेल्पिङ ह्याण्ड्स हेल्थ एजुकेशन र फिलिप हार्मोनी अर्केष्ट्र बिल्डरको संयुक्त आयोजनामा यो अवार्ड सम्पन्न भएको आयोजक नवराज श्रेष्ठले बताए ।


सो समारोहमा अग्रज चरित्र अभिनेता रामचन्द्र अधिकारीलाई यो वर्षको दीर्घसाधना सम्मानबाट सम्मानित गरियो । बिगत पाँच दशकदेखि नेपाली कलाक्षेत्रमा योगदान दिएको भन्दै उनलाई सो सम्मान प्रदान गरिएको अर्को आयोजक संस्था नेपाल फिल्म सोसाइटीका अध्यक्ष कृष्ण मल्लले कार्यक्रममा बताए ।समारोहमा विभिन्न विधामा कलाकारहरुलाई चलचित्र अवार्ड प्रदान गरियो ।

सोही समारोहमा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी र साहित्यकार पदम विश्वकर्मालाई अभियान श्री अवार्डबाट सम्मानित गरियो । यस्तै संस्थागत रुपमा चलचित्र विकास बोर्ड तथा अभिनेत्री स्वस्तिमा कार्की क्रमशः गिहिन्द्र धिमाल सम्मान र रामकेशर बोगटी स्मृति सम्मानबाट सम्मानित भए ।

समारोहमा विभिन्न चलचित्र, कलाकार तथा प्राविधिकलाई अवार्ड प्रदान गरियो । अवार्ड समारोहमा फिल्म अफ दी इयरको अवार्ड चलचित्र पुजार सार्कीलाई, डाइरेक्टर अफ दी इयरको अवार्ड निर्देशक दिनेश राउतलाई, एक्टर अफ दी इयरमा अभिनेता प्रदिप खड्कालाई, एक्ट्रेृस अफ दि इयरको अवार्ड चलचित्र बोक्सीको घरबाट केकी अधिकारीलाई प्रदान गरियो । जस मध्य चलचित्र पुर्णबहादुरको सारंगीका अभिनेत विजय बराललाई जूरी अवार्ड प्रदान गरियो । तर उनी कार्यक्रममा उपस्थित थिएनन् ।

सोही समारोहमा वेष्ट सपोर्टिङ रोलको अवार्ड चलचित्र छक्का पञ्जा ५ बाट हास्य अभिनेता केदार घिमिरेलाई, स्टार अफ डिकेड अवार्ड अभिनेता दिलीप रायमाझीलाई, डेब्यू एक्टर अवार्ड चलचित्र बाह्र गाउँबाट अमिनेता समिर भट्टलाई, डेब्यु एक्ट्रेस अवार्ड चलचित्र लण्डन टु पेरिसबाट अभिनेत्री गरिमा शर्मा र कमिङ अप स्टारअवार्ड अभिनेत्री दिव्या रायमाझीलाई प्रदान गरियो ।

अमेरिकासहित बाहिरका विभिन्न देशबाट आएका नेपाली कलाकारहरूको भव्य उपस्थिति रहेको सो समारोहमा दुई विशेष मेयर र कमिस्नरसहित अन्य अतिथिहरु शुनिल पाठक, नारायण श्रेष्ठले कलाकर्मीलाई सम्मान गर्ने यस्तो अन्तर्राष्ट्रिय समारोहले अमेरिकामा पनि नेपालीलाई जोड्ने काम गरेको भन्दै अवार्डको प्रसँसा गरे ।

विदेशी भूमिमा बसोबास गर्ने नेपालीहरूको लगानीमा बनेका चलचित्र डोरी र कर्मालाई सोही समारोहमा डायस्पोरा चलचित्र अवार्ड प्रदान गरियो। त्यस्तै तेलभिसा र त्यसका निर्देशक शंकर घिमीरे पनि यो अवार्डबाट सम्मानित भए ।

समारोहका विशेष अतिथीहरू वरिष्ठ अभिनेता निर शाह, वरिष्ठ संगीतकार शम्भुजित बास्कोटा, हास्य सम्राज्ञी बसुन्धरा भुषाल, चलचित्र विकास बोर्ड अध्यक्ष दिनेश डिसी, तथा आङ तेम्वा शेर्पा थिए । सुनिल पाठक, गजेन्द्र कार्की, कृष्ण सुनार, गौतमबुद्ध महर्जन तथा आईबिसी इन्डिपेन्डेन्ट बायर कम्पनीलाई प्रशंसा प्रदान गरिएको थियो ।

ग्लोबल नेपाली फिल्म अवार्ड यूएसएका अध्यक्ष तथा अभिनेता नवराज श्रेष्ठले कार्यक्रम बिगतको भन्दा अझ भव्यतापूर्वक सफल भएकोमा सबै सहयोगी प्रति आभार प्रकट गरे । यस्तै अर्को आयोजक संंस्था नेपाल फिल्म सोसाइटीका अध्यक्ष कृष्ण मल्लले ‘नेपाली फिल्म, भिलेज टु ग्लोबल’ नाराका साथ बिगत नौ वर्ष यताबाट यो अवार्ड अमेरिकामा आयोजना हुँदै आएको बताए । अघिल्ला संस्करणहरू कोलोराडो, सनफ्रान्सिस्को र न्यूयोर्कमा सम्पन्न भए पनि यसपटक फेरी कोलोराडोमै आयोजना गरिएको पनि बताए ।

सबै अतिथिलाई कार्यक्रम हलमा अटाउन नसकेकोमा उनले क्षमा माग्दै अर्को वर्ष अझ ठुलो हलमा कार्यक्रम गर्ने बताए । समारोहमा कलाकार केदार घिमिरे, शम्भुजित बास्कोटा, कृष्णमुरारी ढुंगेल, महादेव त्रिपाठी, मनोजराज शिवाकोटी लगायतका राष्ट्रिय तथा स्थानीय कलाकारहरूले गीत संगीत तथा प्रहसन प्रस्तुत गरेका थिए ।