बरिष्ठ निर्माता पौडेलको निधन


ब्युटी न्युज नेपाल
काठमाडौँ, ४ मंसिर

बरिष्ठ चलचित्र निर्माता दिलिप पौडेलको ७४ वर्षको उमेरमा बुधबार राती निधन भएको छ । उनी ज्वाला, जीवन संघर्षजस्ता फिल्मका निर्माता हुन् । उनकोे उपचारको क्रममा ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालमा बुधबार राती ११ बजेर १६ मिनेटमा निधन भएको हो ।

उनले राजेश हमाल, सिर्जना बस्नेत, सुनील थापा, सरोज खनाल, कृष्टी मैनाली, रुपा राना, हरिप्रसाद रिमाल, हरिहर शर्मा, शुभद्रा अधिकारी, टीका पहाडी, मदनदास श्रेष्ठलगायतका कलाकारलाई लिएर ज्वाला नामक फिल्म निर्माण गर्नु भएको थियो। त्यसैगरी राजेश हमाल, मिथिला शर्मा, युवराज लामा, आरधना क्षत्री, उत्पला खड्कालगायतका कलाकारलाई लिएर जीवन संघर्ष नामक अर्को फिल्म निर्माण गरेका थिए ।

७४ वर्षीय पौडेलले नेपालमै पहिलोपटक कानुनी लेखापढी सेन्टर स्थापना गर्नु भएको थियो । उनले राजधानीको डिल्लीबजारबाट आनन्द लेखापढी सेन्टर सञ्चालनमा ल्याउनु भएको थियो । नेपाल लेखापढी कानुन व्यवसायी संघको सस्थापक अध्यक्षसमेत रहनु भएको उहाँले काठमाडौंको ओम् शान्ति चोक, भक्तपुरको डोलेश्वर र इटहरीमा सिमपानी कबाब घर सञ्चालन गर्दै आउनु भएको थियो । स्व. पौडेलको बुधबार राती नै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरीएको छ ।