८औं एटिए एभरेष्ट ग्लोबल नेपाली फिल्म अवार्ड २०२५को तयारी तिब्र


ब्युटी न्युज नेपाल
ल्याग्जिन्टन, (अमेरिका) २ मंसिर

आगामी नोभेम्बर २३ मा अयोजना हुने ८औं एटिए एभरेष्ट ग्लोबल नेपाली फिल्म अवार्ड २०२५ हुने भएको छ । अमेरिकाको कोलोराडोस्थित बोल्डर शहरमा हुने यो अवार्डको तयारी पूरा भएको छ ।

कार्यक्रममा सहभागी हुन नेपालबाट वरिष्ठ अभिनेता निर शाह, वरिष्ठ संगीतकार शम्भुजित बास्कोटा, हास्य साम्राज्ञी बसुन्धरा भुषाल, हास्य कलाकार केदार घिमीरे, नेपाल फिल्म सोसाइटी नेपालका अध्यक्ष वरिष्ठ कलाकार कृष्ण मल्ल, चर्चित नायकहरू प्रदिप खड्का, दिलिप रायमाझी, चर्चित नायिकाहरू शर्मिला मल्ल, केकी अधिकारी, गरिमा शर्मा, दिब्या रायमाझी, चरित्र अभिनेता रामचन्द्र अधिकारी, चलचित्र बिकास बोर्डका अध्यक्ष दिनेश डिसी, अभिनेता तथा चलचित्र निर्माता मधुकुमार श्रेष्ठ लगायत २ दर्जनभन्दा बढी चर्चित कलाकर्मिहरू कोलोराडो आउने भएका छन् ।

नेपाल फिल्म सोसाइटी नेपाल, ग्लोबल नेपाली फिल्म अवार्ड यूएसए , हेल्पिङ ह्याण्ड्स हेल्थ एजुकेशन र फिलिप हार्मोनी अर्केस्ट्रा बिल्डरको संयुक्त आयोजनामा ८औं एटिए एभरेस्ट ग्लोबल नेपाली फिल्म अवार्ड कार्यक्रम हुन लागेको हो ।

नेपाली मौलिक कला संस्कृतीको पहिचान विश्वमाझ पुर्याउन तथा नेपाली फिल्मीकर्मिहरूलाइ प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रमलाइ भब्यताकासाथ सफलपार्न कोलोराडो निवासी नेपाली भाषी बाआमा, दाजुभाइ, दिदीबिहनीहरूको सहयोग र सहभागीताको लागी ग्लोबल नेपाली फिल्म अवार्ड यूएसएका अध्यक्ष नवराज श्रेष्ठले सबैलाइ हार्दिक अनुरोध गरेका छन् ।

कार्यक्रममा निशुल्क सहभागी हुन पाउने भएतापनि अनिवार्य प्रवेश पासको ब्यवस्था गरिएको छ । प्रवेशपासको लागी ग्लोबल नेपाली फिल्म अवार्ड यूएसए लगायत कोलोराडोमा सकृय नेपाली संघ संस्थाका पदाधिकारीहरू संग सम्पर्क गरि पास प्राप्त गर्न सकिने अध्यक्ष श्रेष्ठले बताएका छन् । कार्यक्रम बोल्डर थिएटरमा नोभेम्बर २३ तारिक आइतबार साँझ ४ बजेदेखि सञ्चालन हुनेछ ।

नेपाली फिल्म भिलेज टु ग्लोब भन्ने नारासहित आयोजना हुन लागेको ८औं एटिए एभरेस्ट ग्लोबल नेपाली फिल्म अवार्ड २०२५ फिल्मकर्मीलाई सम्मान, पुरस्कार र प्रोत्साहन गर्ने हेतुले सन् २०१६ देखी आयोजना हुँदै आएको छ । संसारभर छरिएर बसेका नेपाली चलचित्रकर्मी तथा कलाकारहरूलाई एउटै स्थानमा जमघट गराएर नेपाली मौलिक कला, संस्कृतिलाई संसारभर परिचित गराउने उद्देश्यले यस अवार्ड र्कायक्रम शुरु गरिएको श्रेष्ठले बताएका छन् ।

आफ्नै नाम, आफ्नै शान, आफ्नै पहिचान गाउँदेखि विश्वबजारसम्मको नारा लिएको ग्लोबल नेपाली फिल्म अवार्ड चलचित्रकर्मीको प्रोत्साहन र सम्मानको लागि सन् २०१६ देखि नियमित आयोजना हुँदै आएको छ । यस अवार्डका अघिल्ला ७ संस्करणहरू कोलोराडो, सनफ्रान्सिस्को र न्यूयोर्क जस्ता शहरमा सफलतापूर्वक सम्पन्न भइसकेका छन् ।

मातृभुमीमा रहेर कलाकारितामा ख्याती कमाएका चर्चित कलाकर्मिहरूसंग प्रत्यक्ष भेटघाट गरी कुराकानी गर्न पाउने यस शुवर्ण अवसरमा समारोहमा सहभागी हौं र कार्यक्रमलाइ भब्य र सब्य तरिकाबाट सफल बनाउन सहयोग पुर्याऔं ।