ब्युटी न्युज नेपाल
काठमाडौँ, २५ कात्तिक
नेपाली चलचित्र ‘पीआर’ले जापानमा आफ्नो प्रदर्शन अधिकार बिक्री गरेको छ । जापानमा फिल्म वितरण गर्दै आएको युना डिजिटलले सो अधिकार खरिद गरेको हो ।
चलचित्रका निर्देशक शोभित बस्नेतले जापानमा फिल्म ‘सोल्ड आउट’ भइसकेको जानकारी दिएका छन्। उनले भने,‘अहिले जापानका लागि यो फिल्म राम्रो रकममा बिक्री गरिसकेका छौँ। अन्य देशका फिल्म वितरकहरुसँग पनि छलफल भइरहेको छ र केही दिनमै थप जानकारी दिनेछौँ।’
मंसिर २६ गतेबाट अल नेपाल प्रदर्शनमा आउन लागेको यो चलचित्र प्रेम, संघर्ष र आप्रवासनसँग जोडिएको भावनात्मक कथामा आधारित भएका निर्देशक शोभित बस्नेतले बताए । विदेशमा रहेका नेपाली दर्शकमाझ फिल्मप्रतिको चासो उच्च देखिएको पनि उनले जिकिर गरे । शोभितको भनाईमा फिल्ममा विदेशमा रहेका छोराछोरीको जीवन र नेपालमा रहेका अभिभावकले उनीहरुप्रति गरेको अपेक्षालाई कथाको केन्द्र बनाइएको छ ।
हालै सार्वजनिक भएको फिल्मको गीत ‘टाटा बाइ बाइ’ ले पनि सामाजिक सञ्जालमा राम्रो लोकप्रियता पाइरहेको छ। गीत युट्युबमा रिलिज भएको केही दिनमै ट्रेन्डिङमा पुगेको छ भने टिकटकमा समेत यसको शब्द र धुनमा बनेका छोटा भिडिओहरू व्यापक बनेका छन्।
फिल्ममा नीर शाह, गौरी मल्ल, आर.ए. सुरज पौडेल, विनिता कार्की, राजन कुँवर, पूजा चौधरी, आश्मा अधिकारी, मस्तानी, बिमला खत्री, गणेश बुढाथोकी, म्याक्स बाबू , कृष्ण थापा, र नवीन घायल लगायतका कलाकारको अभिनय रहेको छ। विशेष भूमिकामा रविन्द्र खड्का, उत्तम के.सी., र दिक्पाल कार्की देखिने छन्।
चलचित्रका प्रस्तुतकर्ता रञ्जित साह र सन्तोष तिवारी हुन् भने निर्माता लक्ष्मण सापकोटा र प्रदीप दाहाल हुन्। गणेश बुढाथोकीले लेखन तथा बन्दे प्रसादले सम्पादन गरेका यो फिल्मको छायांकन सौरभ सायमी र सौरभ लामाले गरेका हुन्। वितरणको जिम्मा आर.आर. फिल्म्सले लिएको छ।





