ब्युटी न्युज नेपाल
काठमाडौँ, २४ कात्तिक
गल्याङ नगरपालिका ७ सेनथुम्का, स्याङ्जाकी विष्णु भण्डारी यति बेला ‘मिसेस् नेपाल वर्ल्ड २०२५’को अन्तिम प्रतिस्पर्धीको रूपमा ग्रान्ड फिनालेको तयारी गर्दै छिन् । शनिवार नाचघरका मिनी प्रेक्ष्यालयमा सम्पन्न मिसेस् नेपाल वर्ल्डको ट्यालेन्ट राउन्डमा एक महिलाको पीडालाई उनले आधा दर्जन मुक्तक मार्फत प्रस्तुत गर्दा सहकर्मी धेरैको आँखा रसाएको थियो । एकल महिला भएपछि सबै कुरा सकिन्छ भन्नेहरूलाई विष्णुले एकल भएर पनि समाजमा माथि उठान सकिन्छ, त्यसको लागि साहस र अथक मेहनत चाहिन्छ भन्ने कुरा पुष्टि गरेकी छिन् । यही कुरा देखाउन पनि उनी मिसेस् नेपाल वर्ल्डमा प्रतिस्पर्धी बनेर प्रस्तुत भएकी हुन् ।

सामाजिक नेतृत्व गर्नु विष्णुकै पुरानै गुण हो । उनी आफ्नो क्षेत्रमा सामाजिक अभियन्ताको रूपमा परिचित छिन् । स्थानीय थानपति आमा समूहकी ११ वर्षसम्म अध्यक्ष रहेकी थिइन् । चितवनबाट विवाह गरेर गल्याङ पुगेको केही वर्षमै उनी आफ्नो समाजमा घुलमिल भएर सामाजिक कार्यमा जुटी सकेकी थिइन् । विष्णुकै नेतृत्वमा त्यहाँ आमा समूह र महिला समूह स्थापना भएको थियो ।

यो दुवै समूहमा रहेर उनले एक दशक भन्दा लामो समय आफ्नो वडामा ५० औँ लाखको सिचाई, नहर, खाने पानी, बाटोघाटो निर्माण जस्ता परियोजनाको नेतृत्व गरेर यी परियोजनालाई गाउँमा निर्धारित समयमै निर्माण सम्पन्न गरिसकेकी छिन् । त्यसैले सामाजिक अगुवा हुँदा आफ्नो जिम्मेवारी पूर्ण रूपमा समयमै निर्वाह गर्नु उनको विशेषता हो । सोही कारण उनी आफ्नो गाउँका आमा तथा बुहारीहरूका लागि ऊर्जा बन्दै आएकी छिन् ।

विगत आधा दशकदेखि काठमाडौँमा बस्दै आएकी विष्णु हाल मिन भवन क्षेत्रमा बस्छिन् । चार सन्तानकी आमा विष्णुले वैदेशिक रोजगारीका क्रममा रहेका श्रीमानलाई चार वर्ष अघि गुमाएकी हुन् । त्यसपछि आफ्नै संसार अव सधैको लागि अन्धकार भयो भन्ने उनले ठानेकी थिइन् । तर जेठी छोरीले त्यही बेला बेलायत पुगेर नर्सिङ पेसा सुरु गरेपछि विष्णुलाई हौसला मिल्यो । उनको एक छोरा अहिले क्यानडामा उच्च शिक्षा हासिल गर्दै छन भने बाँकी एक छोरा र एक छोरी नेपालमै उच्च शिक्षा हासिल गरिरहेका छन् । यी चार सन्तानले अब आमाले आफ्नो खुसीको लागि केही गर्नु पर्छ भन्ने प्रेरणा दिएपछि विष्णुले मिसेस् नेपाल वर्ल्ड २०२५ मा भाग लिएकी हुन् ।
काठमाडौँमा रहेर सन्तानको उच्च शिक्षा र उचित रेखदेखमा समय दिएकी उनी काठमाडौँमै नेटवर्किङ व्यवसायमा पनि छिन् । फुर्सदमा उनी विभिन्न सामाजिक कार्यमा व्यस्त रहने गरेकी छिन् । मिसेस् नेपाल वर्ल्डका प्रतियोगीहरूले मिसेस् नेपाल वर्ल्ड, मिसेस् नेपाल इन्टरनेशलन र एमएस नेपाल इन्टरनेशनलको ताजको लागि प्रतिस्पर्धा गर्दै छन् । यी तीन मध्य एक ताज जित्ने लक्ष्यका साथ आफू अघि बढेको विष्णुले बताइन् ।

मिसेस् नेपाल वर्ल्डको प्रतियोगी नं. १९ विष्णु पब्लिक च्वाईस अवार्डको लागि भोटमा पनि हरेक हप्ता अग्र स्थानमै रहेकी छिन् । त्यसैले अब ग्रान्ड फिनाले मात्र पाँच दिन बाँकी भएकाले खल्ती एपमा गएर प्रतियोगी नं. १९ लाई भोट दिन उनले अपिल गरेकी छिन् । मिसेस् नेपाल वर्ल्डको ग्रान्ड फिनाले यही २९ कात्तिक शनिवार दिउँसो काठमाडौँका भृकुटी मण्डप स्थित नेपाल पुलिस क्लबमा रहेको छ ।





