चलचित्र ‘परान’को दश दिनको व्यापार ४ करोड ५ लाख


ब्युटी न्युज नेपाल
काठमाडौँ, २४ कात्तिक

नेपाली चलचित्र परानले पछिल्लो समय राम्रो व्यापार गरिरहेको छ । रिलिज भएको चौथो दिनबाट पिकअप लिएको यो चलचित्रले शनिबार नवौँ दिनसम्म ३ करोड ७१ लाख ३६ हजार ५५३ रुपैयाँको व्यापार गरेको बक्स अफिस रिपोर्ट चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको छ ।

शनिबार बेलुकासम्मको रिपोर्ट बोर्डले सार्वजनिक गरेको केही क्षणमा चलचित्र परानको निर्माण पक्षले यो चलचित्रले आईतबार रातीसँग दशौँ दिनमा नेपालमा ४ करोड ५ लाख रुपैयाँको व्यापार गरेको जनाएको छ । यो सफलताको लागि निर्माण पक्षले दर्शकलाई धन्यवाद पनि ज्ञापन गरेको छ ।

यो चलचित्र हेरेर आफू नरोएका भन्ने कुनै पनि दर्शक अहिले हलमा भेटिएका छैनन् । यो चलचित्रमा नीर शाहसँगै, महेश शाह, अञ्जना बराइल, मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, केकी अधिकारी, प्रवीण खतिवडा, बुद्धि तामाङ, यासेली योङहाङ, बबिन राई, पुष्पराज ओझा, सीमा काफ्ले, दमन रुपाखेती, यमन श्रेष्ठ, सुब्रतराज आचार्य, सुरेश थापा, बिनोद राई तथा बाल कलाकार आर्यादीप आचार्यलगायतका कलाकारहरूको सशक्त अभिनय रहेको छ ।

फिल्मको शीर्ष भूमिकामा वरिष्ठ अभिनेता नीर शाह रहेका छन् । शाहले धेरै वर्षपछि शीर्ष भूमिका निभाएकाले यो फिल्म विशेष चासोको विषय बनेको छ । पारिवारिक दर्शकका लागि सन्देशमूलक र भावनात्मक कथा प्रस्तुत गर्ने यो चलचित्रले सबै उमेरका दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएको छ ।

‘परान’ फिल्मलाई डेब्यु निर्देशक दीपकप्रसाद आचार्य (काकु) ले निर्देशन गरेका हुन् । फिल्मको कथा पनि आचार्यकै हो भने पटकथा र संवाद यम थापाले लेखेका हुन् । यो चलचित्र बाइस्कोप सिनेमा प्रा.लि.ले निर्माण गरेको हो ।