चलचित्र विकाश बोर्डमा ८४ चलचित्रकर्मीले दिए रगत


ब्युटी न्युज नेपाल
काठमाडौँ, २३ कात्तिक

चलचित्र विकास बोर्डको आयोजनामा आज ८४ जना चलचित्रकर्मीहरुले रगत दिएका छन् । बोर्डले २५ औँ वार्षिक उत्सव तथा राष्ट्रिय चलचित्र दिवसको अवसरमा आयोजना गरेको रक्तदान कार्यक्रममा आज उनीहरुले रक्तदान गरेका हुन् । रक्तदानमा सेलिब्रेटी नायक नायिकाहरु नआए पनि अन्य २०० भन्दा बढी चलचित्रकर्मीको उपस्थिति थियो ।

यो सामाजिक कार्यक्रमले नेपाली चलचित्र क्षेत्रको मानवीय र जिम्मेवार पहिचानलाई उजागर गरेको छ । रेडक्रस केन्द्रीय रक्तसञ्चार संगको सहकार्यमा सञ्चालन भएको कार्यक्रममा एकैपटक १२ जनाले रक्तदान गर्ने सुव्यवस्थित व्यवस्था मिलाइएको थियो । उल्लेख्य चलचित्रकर्मीको उपस्थितियुक्त सो कार्यक्रमले सहभागिता, समन्वय र सामाजिक उत्तरदायित्वप्रतिको उद्योगको प्रतिबद्धता प्रष्ट देखाएको छ।

कलाकार, निर्देशक, निर्माता, प्राविधिकदेखि चलचित्र पत्रकारसम्मको सक्रिय उपस्थितिले कार्यक्रमलाई चलचित्र समुदायको साझा उत्सव बनाइदिएको छ।

कुनै चलचित्र महोत्सवभन्दा पनि बढी उत्साह देखिएको यस रक्तदान कार्यक्रमले नेपाली चलचित्रकर्मी पर्दामा मात्र होइन रियल लाइफमा पनि नायक बन्न सक्छन भन्ने सन्देश दिएको बोर्ड अध्यक्ष दिनेश डिसीले ब्युटी न्युज नेपाललाई बताए ।