ब्युटी न्युज नेपाल
काठमाडौँ, २१ कात्तिक
आज.शुक्रवार २१ कात्तिकबाट मुलुकका चलचित्र घरमा दुई नयाँ नेपाली चलचित्र रिलिज भएका छन् । उपेन्द्र सुब्बा निर्देशित चलचित्र ‘जारी २ ः सङ अफ च्याब्रुङ’ र टंक बुढाथोकीको चलचित्र ‘मन विनाको धन’ रिलिज भएको हो । यी दुबै चलचित्रले सबैले हेर्न मिल्ने गरी युनिभर्सल प्रमाणपत्र सेन्सर बोर्डबाट प्राप्त गरेका छन् ।
चलचित्र ‘जारी २’ नेपालका १५० भन्दा बढी चलचित्र घरमा करिब ३०० वटा सोजहरु पाएको छ । यो चलचित्रले अहिले प्रदर्शनमा आएका चलचित्रहरू मध्य सबैभन्दा बढी सो पाएको पनि निर्माण पक्षले जनाएको छ ।

लिम्बु समुदायको कथामा निर्माण भएको यो चलचित्रमा दयाहाङ राई, मिरुना मगर, विजय बराल, ऋचा शर्मा, प्रेम सुब्बा, बुद्धि तामाङ, पुष्कर गुरुङ, माओत्से गुरुङ, मानहाङ लावती, विष्णु मोक्तान, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, वेदना राई र सिर्जना निङ्लेखुको लगायतको अभिनय छ । उपेन्द्र सुब्बा लिखित तथा निर्देशित यो चलचित्रलाई रामबाबु गुरुङ, मधु मिजार र जीवन गुरुङले निर्माण गरेका हुन् । बाँसुरी फिल्म्स र कबड्डी फिल्म्सको ब्यानरमा निर्माण भएको यो चलचित्रको अहिलेसम्मको बुकिङ हेर्दा यसले राम्रो व्यापार गर्ने विश्वास निर्माण पक्षको छ ।
यस्तै बाल कलाकार अशोक दर्जीको जीवनीमा आधारित कथानक चलचित्र ‘मन विनाको धन’ पनि देशका करिब १०० वटा हलमा शुक्रबारबाटै रिलिज भएको छ । टंक बुढाथोकीले निर्देशनसँगै संगीत र कथा तयार गरेका हुन् ।
टिकाराम बुढाथोकी क्रियटिभ निर्देशक रहेको यो चलचित्रमा अशोक दर्जी, सरोज खनाल, सन्तोष पन्त, रमा थपलिया, नीता ढुंगाना, भोला सापकोटा, बुद्धि तामाङ, रमेश विश्वकर्मा, रवीन्द्र झा, पार्वती अधिकारी, उत्सव सापकोटा, एआर बुढाथोकी, शंकर श्रेष्ठ, साम्राज्ञी थापा, बिना राउत, बाबु पराजुली, रक्षा श्रेष्ठ, प्रियंका झा, विनय अधिकारी, आर्यन पोखरेल, विजय डंगोललगायतका कलाकारको अभिनय रहेको छ । अशोकको पेरिफेरीमा रहेर निर्माण गरिएको यस चलचित्रमा सामाजिक विषयवस्तुमा प्रस्तुत गरिएको छ ।





