ब्युटी न्युज नेपाल
काठमाडौँ, २० कात्तिक
लोकप्रिय गायिका अञ्जना गुरुङलाई मिलाप मासिक पत्रिकाले ‘स्वरमाधुरी’ मिलाप सम्मान प्रदान गरेको छ । बुधबार काठमाडौंमा एक कार्यक्रमबीच उनलाई मिलाप मासिकको कात्तिक अंकको कभर सम्मान प्रदान गरेको हो ।
कार्यक्रमका सभापति मिलाप मासिकका सम्पादक कृष्ण भुसाल, अतिथिहरु महाकाव्यकार खेमनाथ दाहाल, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका पूर्वअध्यक्ष एवं साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, संगीतकार सन्तोष श्रेष्ठ, अग्रज गायक तथा संगीतकार कन्हैया सिंह, अंग्रज पत्रकार सानु श्रेष्ठ, मिलाप फाउण्डेशन अध्यक्ष गीता अधिकारी, टीका गोपाल एम क्रियशन अध्यक्ष गीता सिंह, पत्रकार किशन अर्याल, अनुप सिंहलगायतको आतिथ्यतामा उक्त कभर सम्मान प्रदान गरिएको थियो ।
समारोहमा स्वागत मन्तव्य राख्दै गीता अधिकारीले मिलापले निरन्तर १६ वर्षदेखि मासिक पत्रिका प्रकाशन गर्दै आएको र यसले अन्य पुस्तक पनि प्रकाशन गरेको जानकारी दिइन् ।
कार्यक्रममाथि प्रकाश पार्दै कृष्ण भुसालले मिलापले १५० जति अंक वशेष व्यक्ति र समसामयिक विषयमा प्रकाशन गरेको बताउँदै अञ्जना गुरुङलाई कात्तिक अंकमा ‘स्वरमाधुरी’ कभर स्टोरी तयार पारेको जनाए । समाजका आर्थिक, राजनीतिसँगै भाषा, साहित्य, कला संस्कृतिलाई मिलापमा विशेष स्थान दिँदै आएको र पछिल्लो अंक अन्य सामग्रीसँगै चर्चित गायिका अञ्जना गुरुङका विषयमा विशेष प्रकाशन गरिएको बताए ।
गायक तथा संगीतकार कन्हैया सिंहले अञ्जनाको गायनलाई मिलापले प्राथमिकता दिएर यो सम्मान व्यक्त गरेकोमा बधाई तथा शुभकामना व्यक्त गरे ।
यस्तै गायिका गुरुङले चितवनको जन्म र नेपालगञ्जको बसाइसँगै काठमाडौं र हालको अमेरिकामा बसाईमा आफू निरन्तर गीतसंगीतमा संलग्न रहेको बताउँदै गाउँदै जाँदा एक हजारभन्दा बढी गीत श्रोता/दर्शकमाझ ल्याएको जानकारी गराईन् । कार्यक्रममा आफ्ना भनाइ राख्नेक्रममा केही भावुक हुँदै उनले आफ्ना सयौं गीतलाई श्रोता/दर्शकले मन पराएको आफू भाग्यमानी रहेको जनाईन् ।
अतिथिहरु महाकाव्यकार खेमनाथ दाहाल, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका पूर्वअध्यक्ष एवं साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, संगीतकार सन्तोष श्रेष्ठलगायतले पनि कार्यक्रममा आफ्ना भाई राख्दै अञ्जनालाई बधाई ज्ञापन गरे ।





