ब्युटी न्युज नेपाल
काठमाडौँ, २० कात्तिक
नेपाली चलचित्र ’जेरी अन टप’ले हालसम्म वर्ष २०८२ सालको सर्वाधिक व्यापार गर्ने नेपाली सूचीमा आफूलाई दर्ता गरेको छ । घरेलु बक्सअफिसमा बुधबारसम्म यो चलचित्रले ११ करोड ४३ लाख माथिको रकम संकलन गरेपछि यो सूचीमा आफूलाई दर्ता गरेको हो ।
यो चलचित्र तिहारको अबसरमा ३१ असोजबाट नेपालमा रिलिज भएको हो । गत बैशाख अन्तिम साता प्रदर्शनमा आएको नेपाली चलचित्र ’ऊनको स्वीटर’ नेपाली बक्सअफिसमा ११ करोड ३४ लाख रुपैयाँको व्यापार गर्दै वर्षको सबैभन्दा बढी कमाउने सूचीको पहिलो स्थानमा थियो । तर चलचित्र ‘जेरी अन टप’ले प्रदर्शनको २० औं दिनमा त्यो आँकडा पार गर्दै यो वर्षकै सर्वाधिक कलेक्सन गर्ने नेपाली फिल्मको सुचीमा आफुलाई पहिलो नम्बरमा पु¥याएको हो । फिल्म अहिलेपनि देशभरका सय बढि हलहरूमा प्रदर्शनमा छ ।
अभिनेता अनमोल केसीको स्टारडमले इनिसियल विजनेसमा छलाङ मारेको यो फिल्मलाई दर्शकको ’वर्ड अफ माउथ’ले लामो रेसको घोडाको रूपमा उभ्याएको थियो । सुयोग गुरुङ निर्देशित सामाजिक, पारिवारिक र प्रेमिल कथाको समिश्रण ’जेरी अन टप’ले देशकै पहिचान बोकेको सगरमाथाको कथालाई बलियोसँग प्रस्तुत गरेको छ ।
हिमाल आरोहणको साहसिक कथा उठान गरेको यो फिल्मले देशको पर्यटनलाई समेत अन्तर्राष्ट्रिय स्तरमा पु¥याउन महत्वपूर्ण भुमिका खेलेको भन्दै सामाजिक सञ्जालमा प्रशंसा बटुलिरहेको छ । फिल्ममा अनमोल केसी, आँचल शर्मा, जसिता गुरुङ, भुवन केसी, केदार घिमिरे, उषा खड्गी प्रमुख अभिनयमा छन् ।
अनन्या फिल्मस्’को ब्यानरमा सरोज न्यौपानेको प्रस्तुतिमा तयार फिल्मले अन्तर्राष्ट्रिय बजारमा पनि प्रसंशा बटुलिरहेको छ । अष्ट्रेलिया, अमेरिका, जापान, युरोप लगायतका दर्जनौं देशहरूमा एकसाथ प्रदर्शनमा रहेको फिल्मले ग्लोबल बक्सअफिसमा हालसम्म १७ करोड कलेक्सन गरिसकेको निर्माता न्यौपानेले बताए ।





