ध्वनी परिक्षणपछि चलचित्र देखाउन सुझाब
ब्युटी न्युज नेपाल
काठमाडौँ, २० कात्तिक
कार्तिक २१ गते भोली शुक्रबारबाट विश्वव्यापी प्रदर्शनमा आउने चलचित्र ‘जारी २ : सङ अफ च्याब्रुङ’ले नेपालमा खल्तीमा दर्ता भएका हलबाट २५८ शोज रनभएका हलबाट ४० गरी करिब तीन सय सोज पाएको यसको वितरण पक्षले जनाएको छ । यस्तै यो चलचित्र शुक्रबारबाटै १९२ स्थानमा पनि रिलिज हुने भएको छ । यो चलचित्रले सेन्सर बोर्डबाट सबैले हेर्न पाउने युनिभर्सल प्रमाणपत्र पनि पाएको छ ।
नर्माण टिमले सिनेमाको साउण्ड लेवलका बारेमा हल सञ्चालकलाई जानकारी दिएको छ । बिहीबार एक विज्ञप्ती सार्वजनिक गर्दै हल सञ्चालकलाई सिनेमाको व्यावसायिक प्रदर्शन सुरु गर्नु पूर्व एक पटक टेस्ट रन गर्न अनुरोध गरेको हो । सिनेमाको निर्माण टिमले सार्वजनिक विज्ञप्तीमा भनिएको छ, ‘हामीले सिनेमा ‘जारी २’को साउण्ड मिक्सिङ इमर्सिभ साउण्ड फम्र्याटमा सम्पन्न गरेका छौं, जसका कारण दर्शकहरूले यो सिनेमालाई डल्बी एटमस, डिटिएसःएक्स र अरो म्याक्स प्रणालीमा साउण्ड अनुभवका साथ हेर्न सक्नेछन् ।’
यो सिनेमाको मिक्सिङ कार्य डल्बीको फेडर युनिट ५.८ मा गरिएको हो । देशभर सञ्चालनमा रहेका प्रत्येक सिनेमा हलमा साउण्ड प्रेसर लेभल (एसपीएल) फरक–फरक हुने भएकाले यो सिनेमाको व्यावसायिक प्रदर्शन सुरु गर्नु अघि एक पटक टेस्ट रन गर्न सवै सिनेमा घरलाई अनुरोध गर्दछौं । हामीले अघिल्ला सिनेमा प्रदर्शनका क्रममा पाएका अनुभवमा हलहरूमा सिनेमा प्रोसेसर युनिट ३, ३.५, ४ वा ४.५ फरक–फरक अडियो लेबलमा प्रदर्शन हुन्छ, जसले एउटै सिनेमाको साउण्ड फरक–फरक सुनिने अवस्था सिर्जना गर्छ । यसले सिनेमा हलको प्रणाली मापदण्ड अनुसार क्यालिब्रेट भएको छ कि छैन भन्ने यकिन गर्न कठिन बनाउँछ जसले गर्दा सिनेमाको साउण्ड अप्राकृतिक रूपमा लाउड अथवा सानो सुनिन सक्छ ।
डल्बी मापदण्डअनुसार सिनेमाको मिक्सिङ फेडर युनिट ७ मा गरिएमा सिनेमाघरमा पनि प्रदर्शन पनि त्यही फेडर युनिट ७ मा हुनुपर्छ । तर, कतिपय हलहरूले (साउण्ड बढी हुन्छ) भनेर भोल्युम घटाउने प्रचलनका कारण सिनेमाहरूमा लाउड मिक्सिङ गरिन्छ जसको परिणाम साउण्ड डिस्टोर्सन र क्वालिटी हानि हुन्छ छ । यो अभ्यास गलत हो । यी सवै कुरालाई ध्यानमा राख्दै हामीले सिनेमा ‘जारी २’लाई डल्बी फेडर युनिट ५.८ मा मिक्सिङ गरेका पनि बिज्ञप्तिमा उल्लेख छ । त्यसैले सवै सिनेमा हलहरूलाई अनुरोध छ, ‘सिनेमा प्रदर्शन अघि न्यूनतम भोल्युम युनिट ५ बाट टेस्ट रन गर्नुहोस् र साउण्ड स्तर कम–बढी लागेमा त्यहि अनुसार साउण्ड लेबल सेट गरिदिनु हुन विनम्र अनुरोध गर्दछौ ।’
विज्ञप्तीमा भनिएको छ,‘यदि हाम्रो सिनेमालाई ३, ३.५ वा ४ युनिटमा चलाइएमा साउण्ड सानो सुनिन सक्छ, त्यसैले मापदण्ड अनुसारको भोल्युम स्तर कायम गरिदिनु हुन अनुरोध गर्दछौं । सिनेमा ‘जारी २’लाई दर्शकले राम्रो साउण्ड अनुभवका साथ सुन्न सकून् भन्ने हाम्रो उद्देश्य हो । त्यसैले सवै सिनेमा हलहरूलाई प्राविधिक सहयोग र समन्वयका लागि हार्दिक अनुरोध गर्दछौं । यसका साथै भविष्यमा बासुरी फिल्मस्को सिनेमालाई हामि फेडर युनिट ७ मा मिक्सिंग गर्दै दर्शकलाई उत्कृष्ट अनुभव दिने कोशिस गर्नेछौं ।’
उपेन्द्र सुब्बा लिखित तथा निर्देशित सिनेमालाई रामबाबु गुरुङ, मधु मिजार र जीवन गुरुङले निर्माण गरेका हुन् । सिनेमामा दयाहाङ राई, मिरुना मगर तथा विजय बरालको प्रमुख भूमिका रहेको छ ।





