मोडल एवम् कलाकार रोजी थापा मिसेस् नेपाल वर्ल्डको प्रतियोगी


ब्युटी न्युज नेपाल
काठमाडौँ, १८ कात्तिक

सुरुमा आफूलाई मोडलको रूपमा अघि बढाएकी रोजी थापाले मोडलिङसँगै अभिनय यात्रालाई पनि अघि बढाइन् । म्युजिक भिडियो देखि र्‍याम्पसम्मको मोडलिङ अनुभवसँगै उनी केही महिना अघि रिलिज भएको चलचित्र ‘डोरी’मा कलाकारको रूपमा प्रस्तुत भइन् । डोरीमा छोटो भए पनि प्रभावशाली भूमिका निभाएकी उनले त्यसपछि दीपेन्द्र के खनाल निर्देशित चलचित्र ‘क्याप्टेन साब’मा पनि अभिनय गर्ने अवसर पाएकी छिन् । यो चलचित्र अहिले निर्माणकै क्रममा छ ।

दुई सन्तानको उचित रेखदेखसँगै रोजी सामाजिक अभियानमा पनि त्यत्तिकै सक्रिय छिन् । रोजी केही समय यताबाट लायन्स क्लब अफ काठमाडौँ आशीर्वादसँग जोडिएर सामाजिक कार्यमा पनि त्यत्तिकै सक्रिय छिन् ।

ललितपुरको झम्सिखेलमा बस्दै आएकी रोजी यति बेला ‘मिसेस् नेपाल वर्ल्ड–२०२५’को प्रशिक्षणमा व्यस्त छिन् । त्यसो त उनी मिस नेपालमै सहभागी हुने योजनामा थिइन् । तर विवाहपछि उनले मिस नेपालमा भाग लिने सपना गुमाइन् । सोही सपनालाई पुरा गर्न उनी अहिले मिसेस् नेपाल वर्ल्डमा प्रतिस्पर्धी बनेर उत्रिएकी छिन् ।

यही शनिवार हुने मिसेस् नेपाल वर्ल्डको ट्यालेन्ट राउन्डको लागि आफ्नो विशेष प्रस्तुतिको अभ्यास गरिरहेकी उनले मंगलबार ब्युटी न्युज नेपालसँगको कुराकानीमा यो प्रतियोगितामा उपाधिसँगै महिला सशक्तीकरणको अभियानलाई माथि उठाउन पनि सहभागी भएको बताइन् । उनी प्रतियोगी नं. २४ हुन् ।

रोजीको लागि सौन्दर्य प्रतियोगिता त्यति नौलो हैन । किनकि उनले गत वर्ष सम्पन्न ‘मिस एन्ड मिसेस् युनिभर्सल’मा मिसेस् युनिभर्सलको शीर्ष ताजनै जितेकी थिइन् । त्यसैले ब्युटी पेजेन्टमा धेरै पटक र्‍याम्पमा क्याटवाक गर्दै प्रश्नोत्तरमा समेत उत्कृष्ट भएकी उनी मिसेस् नेपाल वर्ल्डमा पनि शीर्ष उपाधि चुम्ने लक्ष्यमा छु भन्छिन् । त्यसको लागि अथक परिश्रम गरिरहेको रोजीले बताइन् । यो प्रतियोगितामा तीन वटा फरक शीर्षक ‘मिसेस् नेपाल वर्ल्ड’, ‘मिसेस् नेपाल इन्टरनेशनल’ र ‘एमएस इन्टरनेशलन’का लागि प्रतियोगीबिच प्रतिस्पर्धा हुँदै छ । जसमा एक शीर्ष उपाधि चुम्ने लक्ष्यसहित प्रतियोगितामा आफूले मेहनत गरिरहेको उनले बताइन् ।