वर्ष व्यक्तिका रुपमा धुर्मुस सुन्तली सम्मानित


काठमाडौं, १ चैत

आफ्नो प्रकाशनको ८ वर्ष पुरा गरी ९ वर्ष प्रारम्भ गरेको अवसरमा फिल्मीखवर साप्ताहिकले राजधानीमा एक समारोहबीच लोकप्रिय हास्यव्यंग्य कलाकार जोडी सिताराम कट्टेल (धुमुर्स) र कुञ्जना घिमिरे (सुन्तली)लाई सम्मानित गरेको छ ।

सो साप्ताहिकको प्रकाशन सँस्था प्रविशा प्रकाशन प्रालिका तर्फबाट कार्यक्रममा वर्ष व्यक्ति पुरुषका रुपमा सिताराम कट्टेल र वर्ष व्यक्ति महिलाको रुपमा कुञ्जना घिमिरेलाई सम्मान गरिएको हो । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भुजित बाँस्कोटा, फिल्मी खवर साप्ताहिक सम्पादक शान्तिप्रियलगायतले सो सम्मान प्रदान गरे ।

कार्यक्रममा बोल्दै उपकुलपति शम्भुजीत बासकोटाले सिताराम र कुञ्जनले घर बिहिनहरुका लागि सुविधा सम्पन्न नमुना घर बनाएर उनीहरुलाई बास दिँदै ऐतिहाँसिक कार्य गरेको बताए । यी दम्पत्तिका कारण आज सम्रग कलाकारहरुको शिर ठाडो भएको छ भन्दै वर्ष व्यक्तिका रुपमा सिताराम र कुञ्जना चयनलाई गरिएकोमा सहि निर्णय भएको बताए । आफ्नै जन्मदिन र फिल्मीखबरको बार्षिकोत्सवको संयोग आफ्ना लागि गौरव गर्न लायक भएको भनाई राख्दै उनले फिल्मी खबर सप्ताहिक टिमलाई बधाई ज्ञापन गरे ।

 

सो सम्मानले आफुमा काम गर्ने हौसला अझ बढेको बताउँदै कलाकार सिताराम कट्टेलले धुर्मुस सुन्तली फाउण्डेशन केवल सिताराम र कुञ्जनाको मात्रै नभएर सबैको साझा संस्था भएको जिकिर गरे । फिल्मीखबरले यस किसीमको सम्मान दिदै वर्ष व्यक्ति तोकिएकोमा आभार व्यक्त गरे । उनले देशलाई चिनाउन पर्यटनलाई बढाउन नमुना नेपालको अवधारणा अघि सारेको बताउँदै पाँच वर्षमा तयार हुने यो परियोजनामा सबैबाट सहयोग प्राप्त हुने आशा व्यक्त गरे ।

कलाकार कुञ्जना घिमिरेले बिगतमा आफुहरुले निर्माण गरेका विभिन्न नमुना बस्तीको बारेमा प्रकाश पार्दै यसरी सम्मान हुँदा अझ हौसला बढेको बताईन् ।

फिल्मी खबर साप्ताहिकका सम्पादक शान्तिप्रियले यसपटक सिताराम र कुञ्जनालाई वर्ष व्यक्ति चयन गरेर पुरस्कार गर्दा सही व्यक्ति चयन गरेको प्रतिक्रिया पाएको छु भने । हास्य कलाकार भनेर कुनै समय सिताराम र कुञ्जनालाई भेट्दा हाँस्नेहरु आज यी दुई कलाकारले उनीहरुले अत्यन्त श्रद्धापूर्वक हेर्ने गरेकोमा आफुलाई खुसी लागेको शान्तिप्रियले बताए । नेपाली कलाकारको शिर उच्चो राख्ने सामाजिक अभियान्तको काम यी दम्पत्तिबाट भएकाले वर्ष व्यक्ति सम्मान प्रदान गरिएको प्रकाश पारे । फिल्मी खबर साप्ताहिकको नौ वर्षसम्मको यात्राबारे पनि उनले चर्चा गरे ।

फिल्म खबर साप्ताहिककी सह सम्पादक गीता अधिकारीले स्वागत भनाई राख्दै पत्रिकाको बारे थप प्रकाश पारिन् ।

 

कार्यक्रममा नेपाल चलचित्र संघका उपाध्यक्ष मधुसुदन प्रधान, नेपाल चलचित्र निर्माता संघका उपाध्यक्ष केशव भट्टराई, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रामकेशर बोगटी, नेपालकै पहिलो चलचित्र आमाकी अभिनेत्री चैत्य देवी, लेखक निर्देशक मोहन निरौलालगायतले फिल्मीखबर साप्ताहिकले ८ वर्ष पुरा गरी नवौं वर्ष टेकेकोमा शुभकामना व्यक्त गरे ।