ब्युटी न्युज नेपाल
काठमाडौं, १८ कात्तिक
रिलिज भएको तीन दिनसम्म अविरल झरीका कारण चलचित्र परानको व्यापार मध्यम थियो । तर सोमबारबाटै मुलुकमा मौसममा सुधार आएसँगै चलचित्र परानको व्यापारमा पनि ह्वातै बृद्धि देखिएको छ ।
कार्तिक १४ गते रिलिज हुँदा केवल ६४ शो पाएको ‘परान’ सिनेमाले बलियो वर्ड अफ माउथ पाउँदा आज मंगलबाट विभिन्न हलमा सोहरु थपिएको थियो । यही क्रममा भोलि बुधबार चलचित्र परानले सर्वाधिक शो संख्या आफ्नो पक्षमा पारेको छ ।
दिपक प्रसाद आचार्यको डेब्यू निर्देशन रहेको सिनेमालाई गोल्छा समूहका शेखर गोल्छा तथा प्रिज्मा एडभटाइजिङका रंजित आचार्यको सहस्वामित्वको कम्पनी बाइस्कोट सिनेमाले निर्माण गरेको हो ।
‘परान’ले रिलिजको छैटौं दिन आउँदा हाल नेपाली सिनेमा हलहरुमा प्रदर्शनरतः नेपाली तथा विदेशी सिनेमाहरुलाई पछाडि पार्दै सर्वाधिक शो पाउन सफल भएको छ । खल्ती एपमा यो समाचार तयार पार्दासम्म फिल्मले देशभर कुल १ सय ३२ शो पाएको छ । उसलाई दोश्रो स्थानमा अनमोल केसीको ‘जेरी अन टप’ले १ सय १९ शो प्राप्त गरेको छ ।
हाल नेपाली हलहरुमा ‘परान’ सहित ‘जेरी अन टप’, वरिष्ठ बलराम, मैझारो गरी कुल ४ वटा नेपाली सिनेमा प्रदर्शनरत छन् । खल्तीमा ‘मैझारो’ फिल्मले यो समाचार तयारपार्दासम्म ४ शोमा सीमित भएको अवस्था छ भने ‘वरिष्ठ बलराम’ले २१ वटा शो पाएको तथ्यांक छ ।
यस्तै विदेशी भाषाका फिल्महरुले पाएको शो संख्यानिक्कै कम छ ।रि–रिलिज बाहुबली ४७ शो पाएको छ भने थामा १३ र कान्तारा–२ले ६ शो पाएको छ । दर्शक तथा समिक्षकहरु दुबैबाट उत्कृष्ट प्रतिक्रिया पाएपछि दर्शकको मागलाई मध्यनजर गर्दै हलहरुले अन्य सिनेमाका शोमा भारी कटौती गर्दै ‘परान’लाई उत्साहजनक शो उपलब्ध गराएका हुन् । फिल्म हेर्नेहरुले उत्कृष्ट सिनेमा भन्दै सिनेमा हेरेर आफूहरु भाबुक भएको प्रतिक्रिया दिइरहेका छन्।





