चलचित्र रोल नं. १ को लागि बाल कलाकारको खोजी


ब्युटी न्युज नेपाल
काठमाडौं, १७ कात्तिक

नयाँ चलचित्र ‘रोल नं. १’ को निर्माण हुने भएको छ । यो चलचित्रकोलागि निर्माणपक्षले बाल कलाकारको अडिसन आह्वान गरेको छ । यो चलचित्रलाई पूर्णबहादुरको सारंगीका निर्माता बिनोद पौडेलले निर्माण गर्दैछन् । उनको पछिल्लो चलचित्र अभिमान्यु च्याप्टर १ को रिलिज पछि रोल नं. १ को छायांकन सुरी गरिने निमार्ण पक्षको कथन छ ।

सेभेन सिज सिनेमाको प्रस्तुति रहने यो चलचित्रका लागि निर्माण समूहले सामाजिक सञ्जालमार्फत विज्ञापन जारी गर्दै ७ देखि १२ वर्ष उमेर समूहका प्रतिभाशाली बालबालिकाहरूको खोजी गरिरहेको जनाएको छ ।गत वर्ष नै यो चलचित्रको घोषणा गरिएको थियो । साथै, फस्र्टलुक पोस्टर पनि सार्वजनिक गरिएको थियो, जसमा कक्षाकोठाको लास्ट बेन्चमा बसेको एक बालकले हात उठाएर आफ्नो उपस्थितिको संकेत गरेको दृश्य देख्न सकिन्छ । पोस्टरले नै चलचित्र बालमनोविज्ञानसँग सम्बन्धित रहेको स्पष्ट संकेत गरेको थियो ।

निर्माणपक्षका अनुसार ७ देखि ८ वर्षका ३ जना केटा बाल कलाकार, ६ देखि ७ वर्षकी १ जना केटी बाल कलाकार र ११ देखि १२ वर्षका २ जना केटा बाल कलाकार आवश्यक छन् । बाल कलाकारहरूको रङ गहुगोरो र उचाइ २.५ देखि ३ फिटसम्म हुनुपर्ने जनाइएको छ । इच्छुक बालबालिकाले सानो भिडियो क्लिप तयार गरी निर्माण पक्षले दिएको ठेगानामा पठाउनु पर्ने छ ।

निर्माणपक्षले प्राप्त भिडियोहरूबाट शोर्टलिस्ट भएका व्यक्तिहरूलाई फाइनल अडिसनका लागि सम्पर्क गर्ने बताएको छ । चलचित्रमा जोन योञ्जनको कथा तथा निर्देशन, महेश दवाडीको पटकथा र संवाद, र प्रशान्त शिवाकोटीको संगीत रहनेछ । निर्माणपक्षले कलाकारहरूको नाम भने हालसम्म सार्वजनिक गरेको छैन । सेभेन सिज सिनेमाको प्रस्तुति रहेको अर्के चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’ प्रदर्शनको तयारीमा छ ।