अनमोलको चलचित्र जेरी अन टपले कमायो १० करोड


– अनमोल केसीको चलचित्रले पहिलो पटक गर्यो १० करोड माथिको व्यापार
– जेरी अन टप सुपरहिट भएपछि १० करोडको केक काटे नायक अनमोल केसीले
– चलचित्र जेरी अन टप रिलिजको लागि जापान उडे अनमोल केसी

सरिता भारती/ब्युटी न्युज नेपाल
काठमाडौँ, १४ कात्तिक

नायक अनमोल केसीका लागि आजको दिन जीवनकै सबैभन्दा बढी खुसीको दिन बनेको छ । २०७१ सालबाट नायकको रुपमा चलचित्रमा अभिनय गर्दै आएका अनमोलले जीवनमा आज पहिलो पटक आफ्नो चलचित्रको १० करोड रुपैयाँको व्यापारको सफलतामा खुसी साटेका छन् । नायक अनमोल केसीको यति बेला नयाँ चलचित्र ‘जेरी अन टप’ चलचित्र घरहरुमा सफलतापूर्वक प्रदर्शन भईरहेको छ ।

यो चलचित्रले रिलिज भएको १३ औँ दिनमा नेपालका चलचित्र घरमा आफ्नो व्यापार १० करोड कटाएको छ । अभिनेता अनमोलको लागि यो जीवनकै सबैभन्दा खुसीको पल हो । किनकी दुई साता अघि मात्र अनमोलले यसपटक आफ्नो चलचित्रले १० करोड रुपैयाँको व्यापार गरेर आफ्नो करिअर मै नयाँ रेकर्ड राख्ने दाबी गरेका थिए । सो दाबी यतिबेला पुरा भएको छ ।

नायक अनमोल केसीको एक दशक भन्दा लामो चलचित्र यात्रामा ‘जेरी अन टप’ नै १० करोड भन्दा माथिको कमाइ गर्ने पहिलो चलचित्र सावित भएको छ । आफ्नो चलचित्र जेरी अन टपले हिजो नेपालका चलचित्र घरमा व्यापार १० करोड नघाएकोमा अनमोलले आज बिहान काठमाडौमा एक समारोहबीच सो सफलताको खुसी साटे । उनले केक काट्दै आफ्नो युनिटसँग यो खुसी साटेका हुन् । कार्यक्रममा अनमोलले आफ्नो लागि आज जीवनकै सबैभन्दा खुसीको पल भएको पनि बताएका थिए । सो सेलिब्रेसन कार्यक्रममा आज नायक अनमोल केसीसँग नायिकाहरु आँचल शर्मा, जसिता गुरुङ, कलाकार भुवन केसी, केदार घिमिरे (माग्ने बुढा), निर्देशक सुयोग गुरुङ, निर्माता सरोज न्यौपाने लगायतको टिम थियो । कार्यक्रममा अनमोल केसी निकै खुसी देखिन्थे ।

नायक अनमोल केसीको पहिलो चलचित्र होस्टल एघार वर्ष अघि रिलिज भएको थियो । यो चलचित्र त्यति बेला हिट भएको थियो । हुन त अनमोल केसीले आफ्नै बुबाको चलचित्र सुपर स्टारबाट बाल कलाकारको रुपमा अभिनय यात्रा सुरु गरेका थिए भने त्यसपछि वुवाकै अर्को चलचित्र साथी म तिम्रोको एउटा गीतमा अतिथि कलाकारको भूमिका उनले निभाएका थिए । अनमोलले चलचित्र क्षेत्रमा डेब्यु भने होस्टलबाटै गरेका हुन् । त्यसपछि अनमोलमले जेरी, गाजलु, ड्रिम्स, क्रि, क्याप्नेट, ए मेरो हजुर ३, ए मेरो हजुर ४, छड्के २ र फर्की फर्की जस्ता चलचित्रमा काम गरिसकेका थिए । यी चलचित्र मध्य उनको सबैभन्दा असफल चलचित्र छड्के २ थियो । त्यो बाहेक बाँकी सबै चलचित्र सफल भएका थिए । जस मध्य केहीले लगानी उठाएका थिए भने केहीले मुनाफा समेत कमाएका थिए ।

यति बेला मुलुकका चलचित्र घरमा १३५ शो सहित प्रदर्शन भईरहेको चलचित्र ‘जेरी अन टप’ अनमोलको ११ औँ चलचित्र हो । यो चलचित्र तिहारको अवसर पारेर ३१ असोजमा रिलिज भएको हो । चलचित्र रिलिज भएको १५ औँ दिनमा पनि यति बेला सबैभन्दा बढी सोहरु पाउने नेपाली चलचित्रको रुपमा जेरी अन टप नै रहेको छ । दशैंमा रिलिज भएका तीन वटा नेपाली चलचित्र बलिदान, हरिबहादुरको जुत्ता र माइतीघरले सँयुक्त रुपमा करिब १५ करोड रुपैयाँको व्यापार यसपटक गरे । चलचित्र जेरी अन टप रिलिज भएपछि ती तीनवटै चलचित्र हलबाट उत्रिए ।

यतिमात्र हैन, जेरी अन टप रिलिज भएको एक सातापछि भाई टिकाको दिन तीन वटा नेपाली चलचित्र बरिष्ट बलराम, सोल्टिनी र मैझारो पनि रिलिज भए । यी तीन चलचित्र मध्य दुई चलचित्र सोल्टिनी र मैझारोको बजार पनि अनमोल केसीको चलचित्र जेरी अन टपले नै खाईदियो । सोल्टिीन त रिलिज भएको पहिलो हप्तामै हलबाट आजै उत्रिसकेको छ । मैझारो अझै दोस्रो हप्तामा केही हलमा चल्दैछ भने बरिष्ठ बलरामले दोस्रो हप्ता पनि राम्रो शोहरु पाउन सफल भएको छ ।

चलचित्र जेरी अन टप आजबाट तेस्रो हप्तामा प्रदर्शन भईरहेको छ । आजै रिलिज भएको अर्को चलचित्र परान आउँदा पनि जेरी अन टपको शोहरु घटेको छैन । यसले तेस्रो सातामा पनि राम्रो व्यापार गरिरहेको छ । चलचित्र जेरी अन टपले नेपालबाट १२ करोड भन्दा माथिको व्यापार गर्ने विश्वास निर्माण पक्षको छ । यदि यो चलचित्रले १२ करोड भन्दा माथिको व्यापार गरेको खन्डमा अहिलेसम्मको व्यापार हेर्दा यो वर्षको सबैभन्दा बढी कमाई गर्ने चलचित्र पनि जेरी अन टप नै हुने भएको छ ।

नायक अनमोल केसीलाई निर्माताहरुले मेघा स्टारको उपाधि दिएका थिए । तर उनको कुनै पनि चलचित्रले यस अघि १० करोडसम्मको व्यापार पनि नगरेका कारण अनमोललाई नै यो मेघा स्टारको उपाधि असहज भएको थियो । सोही कारण पनि यति बेला जेरी अन टपले १० करोडको भन्दा माथिको व्यापार गरेपछि अनमोल केसी अहिले सबैभन्दा बढी खुसी भएका हुन् ।

आजैमात्र १० करोडको सेलिब्रेसन सकेर नायक अनमोल केसी आफ्नो चलचित्र जेरी अन टपको जापान प्रदर्शनका लािग निर्माता सरोज न्यौपाने र निर्देशक सुयोग गुरुङसँग जापान तर्फ उडेका छन् । केक काटेर आज बिहान अनमोल र निर्माण पक्षलाई कार्यक्रम स्थलबाटै जापानको लागि बिदा गरिएको थियो ।