ब्युटी न्युज नेपाल
काठमाडौँ, १४ कात्तिक
नयाँ ‘हर्ष’को निर्र्माण टिमले यस चलचित्रको प्रचार प्रसार थालेको छ । यसै क्रममा यो चलचित्रको आज नयाँ पोस्टर (फस्ट लुक्स)सार्वजनिक गरिएको छ । शुक्रबार सार्वजनिक सिनेमाको नयाँ पोस्टरमा सिनेमाका तीन मुख्य पात्र खगेन्द्र लामिछाने, वर्षा राउत र बालकलाकार साइमन वादीलाई प्रस्तुत गरिएको छ ।
यो चलचित्रमा खगेन्द्र, वर्षा र साइमनसहित निर शाह, सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहाडी, निमा पाण्डे, लुनिभा तुलाधर, अंशु महर्जन, रेनु प्रधान, सुवर्ण थापा, श्रृष्टि महर्जन, सिर्जना नापितको अभिनय छ । सिनेमामा आलोक शुक्लाको छयांकन, समीररहिमाल, वसन्त सापकोटा तथा एलिश कार्काको संगीत, लोकेश बज्राचार्यको सम्पादन तथा सुनिल क्षेत्री र निर्देशक पौडेलको कोरियोग्राफी रहेको छ ।
आगामी मंसिर १२ गतेबाट प्रदर्शनमा आउने हर्षको यो पोस्टरले सिनेमा पूर्ण रुपमा पारिवारिक कथामा निर्माण भएको झल्को दिन्छ । खगेन्द्र र वर्षा छोरासँग खुशी भावमा प्रस्तुत छन् । यो सिनेमालाई डेव्यु निर्देशक एकता पौडेलले निर्देशन गरेकी हुन् । उनी स्वर्गिय निर्देशक शिव रेग्मीकी भान्जी हुन् । न्यूयोर्क फिल्म एकेडेमीमा सिनेमा मेकिङ अध्ययन तथा आमसंचारमा स्नातक र व्यवस्थापन तथा नेतृत्व विषयमा स्नातकोत्तर गरेकी निर्देशक पौडेलले यसअघि केही छोटा सिनेमा समेत निर्माण गरेकी छन् । उनले दर्शकलाई ‘हर्ष’ सिनेमा उत्कृष्ट रुपमा पस्किने बताउँदै आइरहेकी छन् ।
अष्टलक्ष्मी प्रोडक्सन्स् र ई(प्राईम मुभिजको ब्यानरमा निर्माण भएको सिनेमाको कथा स्वयं निर्देशक पौडेलको हो । प्रशन्न पौडेल र विकास पौडेल निर्माता तथा हिक्मत चोखाल कार्यकारी निर्माता रहेको सिनेमाका प्रोडक्सन म्यानेजर इश्वर घिमिरे, मुख्य सहायक निर्देशक कुलदीप शर्मा हुन् । काफिया फिल्मस् र डिसिएनले वितरण गर्ने सिनेमाको डिजिटल पार्टनरमा बुढासुब्बा डिजिटल छ ।





 
									 
							 
							 
							 
							 
							 
							 
							 
							 
							 
							