ब्युटी न्युज नेपाल
काठमाडौं, १० कात्तिक
नेपाली चलचित्र ‘जेरी अन टप’ले पछिल्लो समय चलचित्र घरमा आफ्नो प्रभुत्व बलियो बनाईरहेको छ । गएको शनिबार मात्र एकै दिन एक करोड रुपैयाँ भन्दा माथिको व्यापार गरेर नयाँ रेकर्ड बनाएको यो चलचित्रले यो वर्ष रिलिज भएका चलचित्रहरुमा दोस्रो राम्रो व्यापार गर्ने चलचित्रको रेकर्ड बनाएको छ । किनकी चलचित्र विकास बोर्डले सोमबार जारी गरेको बक्स अफिस रिपोर्ट अनुसार ‘जेरी अन टप’ले शनिबार रातीसम्म प्रदर्शनको ९ दिनसम्मको ६ करोड रुपैयाँ भन्दा माथिको ग्रस ब्यापार गरेको छ ।
यस्तै दसैँदेखि तिहारसम्म रिलिज भएका तीन नेपाली चलचित्र बलिदान, हरिबहादुरको जुत्ता र माइतीघरको हालसम्मको बक्स अफिस रिपोर्ट पनि बोर्डले सार्वजनिक गरेको छ । सो रिपोर्ट तल तस्बिरमा उल्लेख छ ।

बोर्डको रिपोर्ट अनुसार ३१ असोजमा रिलिज भएको अनमोल केसीको यो चलचित्रले ८ कात्तिक शनिबारसम्म देशब्यापी ६ करोड ५१ लाख रुपैयाँ ग्रस व्यापार गरेको चलचित्र विकास बोर्डको बक्स अफिस रिपोर्टमा उल्लेख छ । रिपोर्ट अनुसार चलचित्रको १ लाख ९६ हजार ३९६ वटा टिकट विक्री भइसकेको छ । सुयोग गुरुङ निर्देशित यो चलचित्रमा अनमोलसँगै आँचल शर्मा, जसिता गुरुङ, भुवन केसी, केदार प्रसाद घिमिरे (माग्ने बुढा), उषा खड्गीसहितको अभिनय छ । चलचित्रलाई सरोज न्यौपानेले निर्माण गरेका हुन् ।





