जेरी अन टपको एकै दिनमा १ करोड माथिको व्यापार


ब्युटी न्युज नेपाल
काठमाडौँ, ९ कात्तिक

चलचित्र ’जेरी अन टप’ ले आक्रामक अकुपेन्सीलाई निरन्तरता दिएको छ । गत असोज ३१ गतेबाट सार्वजनिक प्रदर्शनमा आएको यो चलचित्रले रिलिजको पहिलो दिनबाट हाउसफूल विजनेससहित हलमा भित्रिएको चलचित्रले प्रदर्शनको नवौं दिनमा १ करोड माथिको ग्रस विजनेस गरेर नयाँ किर्तिमान कायम गरेको छ ।

दोस्रो साताको विजनेसमा एकै दिन करोड माथिको कलेक्सन नेपाली चलचित्र उधोगको लागि दुर्लभ जस्तै बनिरहँदा युवा स्टार अनमोल केसी अभिनित फिल्मले यो सफलता प्राप्त गरेको हो । ’जेरी अन टप’ले हालसम्म यो वर्षकै सर्वाधिक कलेक्सन गर्ने चलचित्रको रूपमा आफुलाई अग्र पङ्ग्तिमा उभ्याएको छ ।

निर्माता सरोज न्यौपानेका अनुसार चलचित्रले शनिबार मात्रै १ करोड १ लाख ३२ हजार ८ सय १३ रुपैयाँ ३३ पैसा कलेक्सन गरेको छ । चलचित्र विकास बोर्डले उपलब्ध गराएको रियल टाइम बक्सअफिस रिपोर्ट सार्वजनिक गर्दै न्यौपानेले आफ्नो चलचित्रले प्रदर्शनको नवौं दिनमा एकै दिन १ करोडको माइलस्टोन क्रस गरेको जानकारी गराएका हुन् ।

एकपछि अर्को दिन आक्रामक विजनेसलाई निरन्तरता दिएको चलचित्रप्रति दर्शक क्रेज आइतबार पनि उस्तै देखिँदा यो क्रमले निरन्तरता पाउने संकेत अग्रिम बुकिङले देखाएको छ । अग्रिम अनलाईन बुकिङमा फिल्मले अफ डे मानिने आइतबार (आज) पनि सोहि प्रकृतिको विजनेस गर्ने देखिएको छ, आइतबारको शोज पाएका देशभरका अधिकांश हल शोज सुरू हुनु अगावै हाउसफूल भइसकेका छन् । राजधानी काठमाडौंसँगै मोफसलमा प्रमुख शहरदेखि ग्रामिण भेगमा हलहरूमा समेत फिल्मप्रति दर्शक आकर्षण उच्च देखिएको छ ।

चलचित्रमा जोडिएको कलाकारहरूको अभिनय, हिमाली दृश्य, निर्देशन कला, छायांकन, व्याकग्राउण्ड स्कोर, सम्पादन लगायतका पक्षले उत्कृष्ट तारिफ भेटेका छन् । दर्शकले फिल्मका मुख्य कलाकार अनमोल केसी, आँचल शर्मा र जसीता गुरुङबीचको त्रिकोणात्मक प्रेमको केमेस्ट्रिलाई उत्कृष्ट भनेका छन् ।