ब्युटी न्युज नेपाल
काठमाडौं, ७ कात्तिक
नेपालमा अपार सफलता पाईरहेको अनमोल केसीको चलचित्र ‘जेरी अन टप’ अमेरिका र अष्ट्रेलिया, माल्टामा पनि सफलतापूर्वक प्रदर्शन भईरहेको छ । यो चलचित्र अब क्यानडामा पनि रिलिज हुने भएको छ ।
विदेशमा नेपाली चलचित्र प्रदर्शन र विभिन्न इभेन्ट आयोजना गर्दै आएको प्रचारले चलचित्र जेरी अन टपको क्यानडा वितरणको अधिकार पाएको छ । प्रचार नेपाल प्रालिका संचालक आशिष पुरी र चलचित्रका निर्माता विवेक थापाले शुक्रबार सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । दर्शकको मागबमोजिम क्यानडामा उक्त चलचित्रको वितरण अधिकार किनिएको प्रचारका संचालक पुरीले बताए । उनले क्यानडामा बुकिङ खुला भइसकेको जानकारी दिए ।
प्रचारका साजनजंग पाण्डेले १ नोभेम्बरबाट क्यानडाका मुख्यमुख्य शहरमा ‘जेरी अन टप’ चलचित्र प्रदर्शन हुने बताए । उनले चलचित्रका लागि टिकट खुला भइसकेको उल्लेख गरे ।
अनमोल केसी, जसिता गुरूङ र आँचल शर्मा अभिनीत चलचित्र ‘जेरी अन टप’ असोज ३१ गतेदेखि नेपाली हलहरु चलिरहेको छ । दोस्रो सातामा पनि चलचित्रको हाउस फुल भइरहेको निर्माता थापाले बताए । चलचित्रले हालसम्म ६ करोड बढी आम्दानी गरिसकेको चलचित्रको प्रस्तुतकर्ता सरोज न्यौपाने जानकारी दिए । ७५ हजार दर्शकले चलचित्र हेरिसकेको उनको भनाइ छ ।
सुयोग गुरूङको निर्देशनमा बनेको यो चलचित्रमा सगरमाथा आरोहण र यात्राको क्रममा हुने प्रेमकथालाई मुख्य विषय बनाइएको छ । भुवन केसी, केदार घिमिरे, उषा खड्गी, सुरक्षा पन्तसहितका कलाकारहरूको अभिनय पनि यस चलचित्रमा देख्न सकिन्छ ।





